
ललितपुर – मानसिक रोगबाट पीडित हुने उमेर समूहमा अधिकांश युवा रहने गरेको पाईएको छ।सुर्खेत गुर्वागोठका २३ वर्षीय युवा चन्द्रबहादुर, सर्लाही हरिवनका २९ वर्षीय रमेश केसी, कालिकोट नरहरनाथका २७ वर्षीय नेत्रबहादुर विष्ट मानसिक रोगको उपचारका लागि ललितपुरको लगनखेल स्थित केन्द्रीय मानसिक अस्पतालको वार्डमा भर्नारत छन्।यी तीन युवा त उदाहरण मात्र हुन्।
लागूपदार्थ दुर्व्यसनी, जीवनशैलीमा हुने परिवर्तन, वैवाहिक अवस्था, प्रेममा धोका वा खटपट लगायत कारणले युवाहरुमा मनोरोग देखिने गरेको मानसिक अस्पताल लगनखेलका प्रमुख कन्सल्टेन्ट साईक्याट्रिष्ट एवं सूचना अधिकारी डा. अनन्त अधिकारीले जानकारी दिए। ‘मनोरोगले यो नै उमेर समूह त भन्दैन, तर लागूपदार्थ दुर्व्यसनी, प्रेम प्रसंग, वैवाहिक अवस्था, आधुनिक जीवनशैली, रहनसहन लगायत कारणबाट आईपर्ने तनाव युवा अवस्थामै सुरु हुन्छ’, डा. अधिकारीले भने, ‘त्यसैले मानासिक रोगबाट बढी पीडित युवा वर्ग नै हुन्छन्।’
उक्त अस्पतालमा अढाई वर्षदेखि मानसिक रोग विशेषज्ञ (एमडी) अध्ययनरत डा. निराजन भट्टराई पनि मानसिक रोगबाट पीडित अधिकांश बिरामी युवा नै हुने गरेको बताउँछन्। ‘मैले हेर्दा पनि अस्पतालको ओपीडीमा चेक गराउन आउने र बेड भर्ना हुनेमा युवा उमेर समूह नै बढी देख्ने गरेको छु’, उनले भने, ‘ईमेल इन्टरनेटको लत, लागूऔषध दुर्व्यसनी, प्रेम प्रसंग, अनावश्यक होडबाजीको जिवनशैली लगायत युवा अवस्थाबाटै सुरु हुने हुँदा मानसिक रोगबाट पीडित झण्डै ७५ प्रतिशत युवा नै हुने गरेका छन्।”
मानसिक रोगलाई अन्य रोग भन्दा बढी प्राथमिकता दिएर सचेतना कार्यक्रम, गाउँतहसम्म बिरामीको उपचार पहुँच लगायत व्यवस्था गर्नुपर्ने मानसिक रोगको क्षेत्रमा क्रियाशिल विज्ञहरु बताउँछन्। ‘अन्य सबैखाले रोगको उपचारका लागि मुलुकका थुप्रै ठाउँमा सुविधा सम्पन्न अस्पताल छन्, गाउँ तहसम्म सचेतनामूलक कार्यक्रमहरु भईरहेको हुन्छ, शिविरहरु बाक्लै चलिरहेको हुन्छ’, मानसिक अस्पतालका प्रमुख कन्सल्टेन्ट साईक्याट्रिष्ट अधिकारी भन्छन्, ‘तर मानसिक रोगको उपचारका लागि मुलुकमै एउटै मात्र सरकारी अस्पताल छ, त्यो पनि ३५ वर्ष अगाडीकै पूर्वाधार र जनशक्तिको भरमा चलिरहेको छ, जसले गर्दा मानसिक रोगका बिरामीका लागि आवश्यक पर्ने सबै सेवा सुविधा तल्लो तहसम्म सर्वसुलभ हुन सकेको छैन।’

मानसिक रोग सम्बन्धी मुलुककै एकमात्र सरकारी केन्द्रीय मानसिक अस्पताल लगनखेलको आर्थिक वर्ष २०७४/०७५ मा ११ करोड ६६ लाख ९४५ रुपैंया बजेट रहेको उक्त अस्पतालका मेडिकल रेकर्डर सुपरभाईजर हेरम्ब आचार्यले बताए। जसमा ३ करोड ८८ हजार साधारण बजेट, ३० लाख पूँजिगत बजेट, अर्थ बजेट संचित बिदा शिर्षकमा ३१ लख ५७ हजार १२२, अर्थ बजेट संचित बिदा उपचार खर्च शिर्षकमा २९ लाख ५ हजार १३९, समिति खर्च शिर्षकमा ५ करोड ६२ लाख ९२ हजार १८० र फार्मेसी खर्च शिर्षकमा २ करोड ११ लाख ५८ हजार ५०४ रुपैंया रहेको छ। दैनिक ५० रुपैयाँ शुल्कमा बिरामीलाई दुईछाक खाना, चिया, विस्कुट, अण्डा सहित औषधी समेत निःशुल्क प्रदान गर्ने मानसिक रोगको उपचारका लागि स्थापित एकमात्र सरकारी केन्द्रीय अस्पतालका लागि छुट्टयाईएको उक्त बजेट अत्यन्त नगण्य रहेको विज्ञहरु बताउँछन्।साभार :नागरिक दैनिक
