
विराटनगर-प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले विराटनगरमा अन्तरराष्ट्रियस्तरको एकदिने वर्डप्रेस सम्मेलन हुने भएको छ । आयोजक समितिले विराटनगरमा पत्रकार सम्मेलन गरी शनिवार (पुस ७ गते) सम्मेलन हुने जानकारी गराएको हो ।
प्रविधि सम्बन्धी चर्चा र प्रशिक्षण लगायतका कार्यक्रम हुने यो सम्मेलनमा २२ भन्दा बढी देशका सूचना प्रविधि (आईटी) सम्बन्धी विज्ञको सहभागिता हुने कार्यक्रम संयोजक गंगा काफ्लेले जानकारी गराए । प्रविधि सम्बन्धी महामेलाका रुपमा लिइने यो कार्यक्रम काठमाडौं बाहिर हुन लागेको यो दोस्रो पटक भएको उनको भनाइ छ ।
आईटी विज्ञ एवम् आयोजक समितिका सदस्य पर्वतराज झाले सम्मेलनमा विभिन्न देशबाट सहभागी विज्ञहरुले प्रख्यात ब्लगिङ माध्यम बनेको वर्डप्रेस सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने बताए । कार्यक्रम आयोजनाले विराटनगरलाई प्रविधि मार्फत विश्वसामु चिनाउनुका साथै प्रविधिमा लगानी गर्ने वातावरणको विकास हुने उनले बताए ।सम्मेलनको अवसरमा सामाजिक कार्य गरिरहेका विभिन्न संस्थाहरुको वेबसाइट बनाएर निःशुल्क हस्तान्तरण गर्ने र प्रदेश एकमा सञ्चालन भइरहेका विभिन्न स्टार्ट अप कम्पनीहरुको सामूहिक उद्घाटन कार्यक्रमसमेत हुने बताइएको छ ।
