
सोल (दक्षिण कोरिया) – दक्षिण कोरियामा जन्मदर निकै कम छ । सन् २०१८ को तेस्रो त्रैमासमा त्यहाँको प्रजनन दर शून्य दशमलव ९५ को कीर्तिमानी न्यून स्तरमा झरेको थियो । । जन्मदरमा आएको कमीसँगै सन् २०२८ देखि त्यहाँको जनसंख्या घट्ने अपेक्षा गरिएको छ ।
कम्पनी र काम प्रतिको प्रतिबद्धता पूरा गर्न सक्दैनन् र लामो समयसम्म काम गर्न सक्दैनन भन्ने आशङ्कामा कम्पनीहरुले बच्चा भएका महिलालाई काममा राख्दैनन् । सुत्केरी बिदा दिनु पर्ला भनेर पनि गर्भवती महिलालाई काममै राखिदैन । करियर र कामलाई निरन्तरता दिन महिलाहरु ले सकेसम्म विवाह नै नगर्ने र विवाह गरिहाले पनि बच्चा जन्माउने योजना नै थाँती राख्न थालेका छन् । यसको असर जनसाङ्ख्यकीमा देखिन थालेको छ । दक्षिण कोरियाली जन्मदर विश्वमै सबैभन्दा न्यून छ । तर करियरका लागि बच्चा नजन्माउने महिलाको सङ्ख्या बढ्न थालेपछि त्यहाँको जन्मदर थप खस्किएको छ ।
सरकारको असफल प्रयास
यसै महीनाको शुरुमा कोरियाले जन्मदर घट्न नदिने उपायहरु घोषणा गरेको छ । जन्मदरको समस्या निकै जटिल स्थितिमा पुगिसकेको छ । यसमा सुधार ल्याउन सरकारी घोषणा अपर्याप्त छ भएको र नयाँ योजनाले अपेक्षाकृत नतिजा नदिने आलोचकहरु बताउँछन् । धेरैजसो दक्षिण कोरियाली कम्पनीहरु आमाहरुलाई जागिरमा ल्याउन अझैपनि त्यति इच्छुक देखिन्नन् ।
जन्मदर घट्नु अन्य कारण पनि छन् – बालबच्चा हुर्काउन महंगो हुँदैछ, युवा बेरोजगारी उच्च छ, कार्यघण्टा लामो छ र दिवासेवाको सुविधा सीमित छ । अधिकांश दक्षिण कोरियाली पुरुषहरु महिलाले काम गरुन् भन्ने चाहन्छन । तर आफ्नै पत्नीलाई जागिरमा लगाउनु पर्दछ भन्नेमा सोच्ने पुरुषहरु आधाभन्दा कम छन् । यस्तो पृष्ठभूमिमा दक्षिण कोरिया सरकारले जन्मदर बढाउने प्रयासमा सन् २००५ यता १२ अर्ब १० करोड डलर खर्च गरिसकेको छ । सरकारले जनचेतनामूलक कार्यक्रम मार्फत बढीभन्दा बढी युवापिँढीलाई विवाह गर्न र बच्चा जन्माउन अनुरोध गरिरहेको छ, तर सफलता प्राप्त भएको छैन ।

यसै महीनाको शुरुमा सरकारले अर्को त्यस्तै नयाँ योजना अघि सारेको छ । सरकारले प्रति महिना बाल स्याहार बापत २७० अमेरिकी डलर दिने योजना ल्याएको छ । आठ वर्षभन्दा कम उमेरका बालबच्चा हुने बाबुआमाका लागि जागिरमा तोकिएकोभन्दा दैनिक एक घण्टा कार्यअवधि घटाइएको छ ।साभार : आर्थिक अभियान
