
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि तामझामका साथ उद्घाटन गरेका बिजुली बस खरिदमा बदमासी भएको पाइएको छ ।
सार्वजनिक टेन्डर आह्वान गरी लुम्बिनी विकास कोषसँगको सहकार्यमा साझा यातायातले पहिलाे चरणमा ५ वटा बिजुलीबाट चल्ने बस ल्याएकाे थियाे । तर चीनमा बनेका गुणस्तरीय बस ल्याउने सम्झौताविपरीत आपूर्तिकर्ताले भारतमा बनेका पुराना बस ल्याएको थाहा पाएपछि सरकारले पुनः चीनबाट खरिद गर्न निर्देशन दिएको छ ।
पर्यटन मन्त्रालयले मेकानिकल उपसचिव दीपक देवकोटाको संयोजकत्वमा बिजुली बसबारे अध्ययन गर्न प्राविधिक समिति गठन गरेको थियो । समितिको अध्ययनअनुसार ती बस चीनमा बनेको नभई भारतमा बनेको पाइएको हो मन्त्रालय स्राेतले जानकारी दिएकाे छ ।
मन्त्रालय स्रोतका अनुसार, बस खरिदका क्रममा १७ वटा कैफियत अर्थात बदमासी भएको देखिएको छ । अध्ययन समितिले बस गुणस्तरहीन भएको र सार्वजनिक यातायातका लागि चलाउन अयोग्य रहेको प्रतिवेदन पेश गरेको छ । मापदण्डभन्दा कमसल गुणस्तरका रहेको ती बसकाे मोडल नै फरक पाइएको छ । बस कहिले उत्पादन भएको भन्ने व्यहोरा नै अस्पष्ट देखिएको र सिट कभर च्यातिएको तथा पाङ्ग्राका नटहरुमा खिया लागेको देखिएको प्रतिवेदनमा उल्लेख छ । बसको स्पिड मिटरले सही सूचनासमेत नदिएको समितिले उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार, बसको पार्टपूर्जा भारतमा बनेको र त्यसमा पनि कतिपय पार्टहरुमा खिया लागेको देखिएको छ । आपूर्तिकर्ता कम्पनीबाट बस नेपाल भित्र्याउँदा नै भारतमा उत्पादन भएको व्यहोरा वीरगन्ज भन्सारमा उल्लेख भएकाे प्रतिवेदनमा जनाइएकाे छ ।
गत कार्तिक ६ गते प्रधानमन्त्री ओलीले चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको भनिएका ती ५ बसमध्ये २ बसको ललितपुरस्थित साझा यातायातकाे कार्यालय परिसरमा शुभारम्भ गरेका थिए । उद्घाटनलगत्तै प्रधानमन्त्री र मन्त्रीहरु साेही बस चढेर सिंहदरबार गएका थिए । तर त्यसपछि बस सञ्चालनमा नअाइ थन्किएका छन् ।
बिजुली बस खरिदका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र आपूर्तिकर्ता कम्पनी बीवाईडीबीच भएको टेन्डर सम्झौतामा चीनमा बनेका गुणस्तरीय बस ल्याउनुपर्ने शर्त थियो । तर सो कम्पनीले किन र कसरी भारतमा बनेका बस आपूर्ति गर्यो भन्ने प्रश्न उब्जिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
बस मापदण्ड विपरीत पाइएपछि मन्त्रालयले ती बसको भुक्तानी रोक्का गर्दै बस फिर्ता गरेर चीनमै बनेका गुणस्तरीय बस आपूर्ति गर्न निर्देशन दिएको जनाइएको छ ।स्रोत : न्युज 24 नेपाल
