
कैलाली , दोस्रो नेपाल आइडल विजेता रवि ओडलाई मातृशोक परेको छ। आज बिहान साढे सात बजेतिर पानी तान्ने मोटर चलाउँदा एक्कासी करेन्ट लागेर ४५ वर्षीया विष्णा घाइते भएकी थिइन्।
घाइते आमाको उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बतायो। बिहान ११ बजे पोष्टमार्टमपछि विस्नाको शव आफन्तलाई बुझाइएको छ। बिहान ११ बजेतिर शव लिएर आफन्त कञ्चनपुरको बाणी गएका छन्।
नेपाल आइडल रवि दुई दिनअघि मात्रै सुदूरपश्चिम प्रदेश सरकारको निमन्त्रणामा गृहनगर आएका थिए। रविका ३ दाजुभाइ र दुई दिदी बहिनी छन् भने बुबा रोजगारीका लागि भारत छन्।रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो । सौतेनी आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना घटेको हो ।
