काठमाडौं – धितोपत्र बजारमा बुधबार शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३० दशमलव २६ बिन्दुले बढेर एक हजार २१६ दशमलव २७ बिन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत बुधबार ६ दशमलव ४१ बिन्दुले बढेर २५८ दशमलव ८२ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा बुधबार बजार २ दशमलव ५५ बिन्दुले बढेको छ । सरकारले गठन गरेको पूँजीबजार सम्बन्धी कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया शुरु भएका कारण शेयर बजारमा समेत उच्च अङ्कको वृद्धि भएको अनुमान गरिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ संयोजकत्वको कार्यदल गठन गर्नुभएको थियो ।
सो कार्यदलले केही दिन पहिले मात्रै प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदन कार्यान्वयनको प्रक्रिया नेपाल राष्ट्र बैंकले अगाडि बढाएको छ । प्रतिवेदन कार्यान्वय प्रक्रिया शुरु भएपछि बजारमा त्यसको सकारात्मक प्रभाव परेको बताइन्छ ।स्टककाअनुसार आज कूल १७३ कम्पनीको १९ लाख १०३ कित्ता शेयर रु ६९ करोड २६ लाख २३ हजार ७४६ मूल्यमा खरीद बिक्री भएको छ । आज कारोवार भएका सबै उपसमूहको शेयर वृद्धि भएको छ ।साभार :उज्यालो