
काठमाडौँ – स्नातकोत्तर उत्तीर्ण नगरी विश्वविद्यालय शिक्षणमा योग्य भएको मानिँदैन । तर, विगतमा बालकृष्ण सम, रमेश विकलदेखि तथा वर्तमानमा दिनेशराज पन्तलगायत केही व्यक्तित्व यसका अपवाद हुन् । दिनेशराज पन्तले २०३१ देखि २०६९ सालसम्म वाल्मिकी विद्यापीठमा प्राध्यापकको रूपमा शिक्षण सेवा गरेका हुन् । उनी शैक्षिक प्रमाणपत्रका हिसाबले स्नातकोत्तर (संस्कृतमा आचार्य) होइनन् । इतिहासकार पिता नयराज पन्तको मार्गदर्शनमा उनले संस्कृतका शास्त्र तथा सिद्धान्तमा दखल राखेका हुन् ।
एकपटक त्रिभुवन विश्वविद्यालयले अनुसन्धान लेख तथा पुस्तक प्रकाशन गरेका व्यक्तिलाई पनि महाविद्यालय (क्याम्पस)मा प्राध्यापनका लागि खुला गरेको थियो । त्यही समयदेखि पन्तको प्राध्यापन शुरू भयो । त्यति मात्रै होइन, इतिहासको खोज र लेखनमा सत्यताका पक्षपाती उनका १ दर्जन ग्रन्थ प्रकाशित छन्, आधा दर्जनभन्दा बढी ग्रन्थमा सहलेखन गरेका छन् भने ४ सयभन्दा बढी लेख रचना प्रकाशित छन् ।
शैक्षिक प्रमाणपत्र विना नै प्राध्यापनको अनुभव बारे सोध्दा पन्तले वर्तमान शिक्षा प्रणालीलाई मूर्ख मण्डलीको व्यवस्था भने । शास्त्रका हरेक वर्ण समेत रिट्ठो नबिराई शतप्रतिशत शुद्ध हुनेगरी कण्ठस्थ गरे मात्रै उत्तीर्ण भएको मानिने पद्धतिमा पढेका उनी सय पूर्णांकमा ३३ ल्याएर उत्तीर्ण हुने व्यवस्थालाई अपूर्ण शिक्षा पद्धति मान्छन् । अनि यस्तो पद्धतिबाट उत्तीर्ण भए मात्रै योग्य मान्ने प्रणालीको उनी घोर विरोधी हुन् । यही पद्धतिका कारण डाक्टरको सर्टिफिकेट हासिल गर्ने जति बढे पनि गुणस्तरीय स्वास्थ्य सेवा हुन नसकेको तथा इन्जिनीयरको सर्टिफिकेट हासिल गर्ने जति भए पनि भौतिक संरचनाको विकासमा गुणस्तर हुन नसकेको तर्क गर्छन् ।वर्तमान शैक्षिक प्रणालीको प्रमाणपत्र विनै पनि विषय विज्ञता हासिल गरेका पन्त लुम्बिनी विकास समिति, त्रिभुवन विश्वविद्यालय तथा विभिन्न भाषिक संघ/संस्थाका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन् । हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य समेत हुन् ।साभार : आर्थिक अभियान
