काठमाडौँः प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको संसदीय सुनुवाइ आज हुँदैछ। सुनुवाइ समितिले दिउँसो २ बजे जबरालाई सुनुवाइका लागि आमन्त्रण गरेको छ। समितिले शुक्रवार जबराविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गरेको थियो।
सुनुवाइपछि समितिले स्वीकृत वा अस्वीकृतको निर्णय आज नै गर्न सक्नेछ। समितिको दुई तिहाइ बहुमतबाट अस्वीकृत भएको अवस्थामा बाहेक जबरा प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनेछन्। समितिबाट स्वीकृत भएमा जबराको नियुक्तिको बाटो खुल्नेछ।
समितिमा जबराविरुद्ध ९ उजुरी परेका छन्।
उनीमाथि पर्साको एक सार्वजनिक पोखरी समेत रहेको जग्गा व्यक्तिको नाममा दर्ता गर्नेगरि फैसला गरेको विषयमा सबैभन्दा बढी उजुरी परेका छन्।
यस्तै, पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाको दाइजो विवादमा नेपाल ट्रष्टको नाममा रहेको जग्गा दाइजो कायम गरेको विषयमा पनि उजुरी परेका छन्।
जबराविरुद्ध तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर विवाद निकालेर बेञ्च बहिष्कार गरेको पनि आरोप लगाइएको छ। यस्तै, कान्तिपुर पव्लिकेशनविरुद्ध विचाराधीन अपहेलना मुद्दामा बेञ्च अवरुद्ध पारेको आरोप पनि उजुरीमा लगाइएको छ।
अन्य उजुरीहरु आर्थिक अनियमितता लगायतका रहेका छन्।