
कालीकोट – खाडाचक्र नगरपालिकाको सहकार्यमा प्रहरीले सदरमुकाम मान्म बजारमा सीसीक्यामेरा जडान गरेपछि दिनहुँजसो हुने झैझगडा, चोरी/डकैतीलगायत घटनामा कमी आएको छ । मदिरा सेवन गरेर होहल्ला गर्ने पनि बजारमा भेटिन छाडेका छन् ।
कालीकोटलाई अपराधमुक्त बनाउन जिल्ला प्रहरीले सीसीक्यामेरा जडान गरेपछि अपराधका घटनामा कमी आएको प्रहरी निरीक्षक देवेन्द्र मल्लले बताए । ‘पहिले दिनहुँजसो चोरी, झैझगडा, कुटपिटका केस प्रहरीमा आउँथे,’ उनले भने, ‘अचेल त्यस्ता घटनामा कमी आएको छ ।’ उनका अनुसार सीसीक्यामेरा जडान हुनअघि दैनिकजसो झैझगडा, चोरी, गाली/बेइज्जतीका उजुरी प्रहरीमा आउने गरे पनि अचेल छिटफुट रूपमा सातामा एक/दुई वटामात्र आउने गरेका छन् ।
सीसीक्यामेरा जडान भएपछि चोरी/डकैती, झैझगडामा कमी हुनुका साथै नागरिक पनि अनुशासित बनेको प्रजिअ चन्द्रबहादुर कार्कीले बताए । उनले प्रहरीले सीसीक्यामेराबाट निगरानी गर्न थालेपछि अपराधीको मनोबल गिरेको सुनाए ।
तीन महिनाअघि मान्म बजारको मुख्य चोक तथा महत्त्वपूर्ण ठाउँमा ११ वटा सीसीक्यामेरा जडान गरिएको थियो । प्रहरीका अनुसार जिरो प्वाइन्ट, जिल्ला प्रशासन, प्रहरी र जिल्ला समन्वय समिति अगाडि, बीच बजारको बैंक चोक, प्रतिमा चोकस्थित नरहरिनाथ चोकलगायत ठाउँमा सीसीक्यामेरा जडान गरिएको छ ।साभार : कान्तिपुर दैनिक
