काठमाडौं- रामबहादुर बमजन आबद्ध धार्मिक संस्थाको वेबसाइट उपलब्ध जानकारी अनुसार उनको जन्म सन् १९९०को एप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो। उनका मातापिता किसान थिए। उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो। उनका ५ छोरा र ४ छोरी छन्। रामबहादुर तेस्रो छोरा हुन्।
“उनी गर्भमा हुँदा उनकी आमालाई माछा मासु खान मन लागेको थिएन र पछि बमजनले पनि मासु खाएनन्। उनी सानो उमेरदेखि नै लामो समयसम्म घर बाहिर जाने गर्दथे।”उक्त विवरणका अनुसार गौतम बुद्धको आमाको नाम मायादेवीसँग मिल्न गएको बमजनको आमाको नामका कारण पनि स्थानीयहरूले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए।
त्यसो त तपस्या सुरु गर्नु अघि नै उनले आफ्नो परिवारका अन्य सदस्यलाई पशुबली नदिन, माछा मासु र रक्सी सेवन नगर्न आग्रह गर्ने गरेको पारिवारिक श्रोतहरूले बताउने गरेका छन्।
उनै रामबहादुर बमजन करिब १३ वर्षपछि फेरि एक पटक चर्चाको केन्द्रमा छन्। उनी चर्चामा आउनुको कारण धेरैलाई प्रिय लागिरहेको छैन। उनको आश्रमबाट केही व्यक्ति बेपत्ता भएका विवरणहरू सेतोपाटी डिजिटल पत्रिकामा आएको थियो।
बमजन आबद्ध संस्था, बोधी श्रवण धर्मसंघले एक विज्ञप्ति निकाल्दै, सञ्चारमाध्यममा उनीबारे आएका समाचार अस्विकार गरेको छ।त्यो विज्ञप्तिले ती समाचार “आधारहीन र सडेगलेका” भएको र तीनलाई संस्थाले “खारेज” गरिदिएको जनाएको छ।उनीविरुद्ध उजुरीसमेत परेको बताइएको छ। तर उनी कहाँ छन्? त्यो जानकारी प्रहरी प्रशासनलाई समेत छैन।