
काठमाडौं : सरकारले सबै सरकारी विद्यालयमा खेलकुद मैदानको व्यवस्था गर्ने तयारी गरेको छ। युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सबै सरकारी विद्यालयमा खेल मैदानको व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए।
राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएशन, नेपाल (एन प्याब्सन) ले सोमबारबाट काठमाडौंमा सुरु गरेको सप्ताहव्यापी खेलकुद प्रतियोगिताको सोमबार काठमाडौंको टुँडिखेलमा उद्घाटन गर्दैै उनले विद्यालय तहमै खेलकुदको विकासका लागि आवश्यक भौतिक पूर्वाधार लगायतका वातावरण तयार पार्न सरकार प्रतिवद्ध रहेको पनि बताए। मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि आधार भूमिको रुपमा रहेकाले पनि सरकारले खेल क्षेत्रको विकासका लागि विद्यालयहरूमा उपयुक्त वातावरण बनाउन लागि परेको पनि स्पष्ट पारे। खेल क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने मन्त्री विश्वकर्माको योजना छ। मन्त्री विश्वकर्माले मुलुकको मान, इज्जत र प्रतिष्ठाका लागि पनि खेलकुद क्षेत्रको विकास अनिवार्य रहेको पनि स्मरण गराए।
कार्यक्रममा बोल्दै एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले मुलुकको खेलकुद क्षेत्रको विकासका लागि विद्यालय तहको पाठयक्रममै खेलकुदसम्बन्धी पाठ्यक्रम तयार पार्न सरकारसँग माग गरे। उनले खेलकुदलाई विद्यालय तहमा अनिवार्य पाठ्यक्रम बनाउनका लागि सरकारलाई दवाव दिन आफूहरूले विद्यालयस्तरीय खेलकुद सप्ताहव्यापी प्रतियोगिता आयोजना गरेको पनि उल्लेख गरे।
काठमाडौंको टुँडिखेलमा सुरु भएको सो सप्ताहव्यापी खेलकुद प्रतियोगितामा देशभरका निजी विद्यालयहरू पनि सहभागी भएका छन्।
