सौल दक्षिण कोरिया
नेपालको रोजगारीको प्रमुख गन्तब्य बनेको दक्षिण कोरियाले २०१९ को लागि आफ्नो कोटा निर्धारण गरेको छ । जसमध्य नेपालले दश हजार भन्दा बढी कोटा प्राप्त गर्न सक्ने भएको छ ।
कोरिया सरकारले आफ्नो देशमा आवश्यक पर्ने विदेशी जनशक्तिको संख्या निर्धारण गरेसँगै नेपालले यो संख्यामा कोटा पाउने बताइएको छ । कामदार छनोटका लागि फागुनको दोस्रो हप्ता १० औं भाषा परीक्षा आवेदन आह्वान हुने भएको छ ।
कोरियाले नेपाली कामदारको कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै थप कामदार छनोटका लागि फागुनमा भाषा परीक्षाको सूचना आह्वान गरी जेठको अन्तिम र असार पहिलो हप्ता भाषा परीक्षा गर्ने योजना बनाएको छ ।
वैदेशिक रोजगार विभाग ईपिएस शाखाले विगत वर्षको उत्तीर्ण संख्याका आधारमा आगामी वर्षका लागि नेपालले अनुमानित १० हजार कोटा पाउने जनाएको छ । नेपालमा ईपीएस प्रणाली लागू भएको एक दशकमा यो वर्ष नै सबैभन्दा बढी नेपाली कोरिया प्रवेश गरेका छन् । सन् २०१८ सकिन एक हप्ता बाँकी रहँदासम्म ८ हजार ५ सय ११ नेपाली श्रमिक कोरिया पुगिसकेका छन् ।
शाखाका निर्देशक कृष्णप्रसाद खनालले कोरियाका रोजगारदाताले नेपाली कामदार माग गर्ने संख्या बढाएको जनाउँदै नेपालले पाउने कोटा यो वर्ष पनि बढ्ने बताए । ईपीएस शाखा नेपालले कोरियामा नेपाली कामदारको माग उच्च रहेका कारण सन् २०१९ मा १६ देशमध्ये नेपालबाट सबैभन्दा धेरै कामदारको माग गर्ने जनाएको छ ।
कोरियको श्रम बजारमा नेपाली कामदार मेहेनती, इमानदार र अन्य देशभन्दा कम संख्यामा अवैध रहेका कारण कोरियाली पक्ष नेपाली कामदारप्रति सकारात्मक छन् ।
शाखाले सन २०१९ को भाषा परक्षिाको आवेदन भने चैतको अन्तिम हप्ता आह्वान गर्ने योजना रहेको जनाएको छ । शाखाका सूचना अधिकृत शोभाकर भण्डारीले १० औं भाषा परीक्षा आवेदनको सूचना फागनुमा गर्ने र चैतभित्र आवेदन गरिसक्नुपर्ने गरी समयतालिका मिलाइने बताए ।
उनले चैतको अन्तिम सातासम्म अनलाइनमार्पmत लिएको आवेदनअनुसार जेठको अन्तिम वा असारको पहिलो हप्ता परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताए । माघको पहिलो हप्ता कोरियाली पक्षसँग छलफल गरी आवेदन आह्वानको सूचना र परीक्षा मिती निर्धारण गरिने शाखाले जनाएको छ ।
अघिल्लो वर्ष माघ ३ गते नेपाल र कोरियाली पक्षबीच भाषा परीक्षा गर्ने सम्बन्धमा छलफल भई परीक्षा मिति तय भएको थियो । “एसईई परीक्षा सकिएर कक्षा ११ को नयाँ भर्ना नहुदै कोरीयाली भाषा परीक्षा गर्नेगरी तयारी भइरहेको छ,” अधिकृत भण्डारीले भने, “परीक्षा केन्द्र तयारीका लागि कक्षा ११ को नयाँ भर्ना हुनुअघि नै भाषा परीक्षा गरिसक्नुपर्छ ।”
जनवरी दोस्रो साता भाषा परीक्षा तयारीका लागि कोरियाबाट सूचना आउने शाखाले जनाएको छ । अघिल्लो वर्ष ८२ हजार २ सय ६४ परीक्षार्थीले कोरियाली भाषा परीक्षाको आवेदन दिएका थिए । यो वर्ष पनि उत्तीर्ण हुने युवाको संख्या बढ्ने भएपछि भाषा परीक्षामा सहभागी हुने युवाको संख्या १ लाख पुग्ने अनुमान शाखाको छ ।स्राेत ः हेल्लाे काेरिया