परासी – पतिले बलात्कार गरेको भन्दै पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा दुई वटा मुद्दा दर्ता भएका छन्। मुद्दा दर्ता गराउनेमा रामग्राम नगरपालिका र सरावल गाउँपालिकाका दुई महिला छन्। पुस दोस्रो साता उनीहरूले प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। इच्छाविपरीत जबर्जस्ती यौन सम्बन्ध राखेको भन्दै मुद्दा परेपछि अदालतमा म्याद थप गरेर अनुसन्धान भइरहेको भट्टले बताए।
बलात्कारका मुद्दा दिने श्रीमती र श्रीमानबीच अदालतमा अंश मुद्दा र सम्बन्ध विच्छेदका मुद्दा चलिरहेका छन्। मुद्दा दिने दुवै जनाका सन्तान छन्। मुद्दा दिनेमा ३० देखि ४० वर्षसम्मका महिला छन्। एक दम्पतीका दुई छोरी छन् भने अर्को दम्पतीका एक छोरा छन्। उनीहरूको ८ वर्षअघि विवाह भएको हो। छोराछोरीलाई समेत हेरचाह नगरी आफूखुसी हिँड्ने गरेका कारण छुट्टै बस्ने गरेको पीडित महिलाले जनाएका छन्।
हेरचाह पनि नगर्ने र उल्टै सम्बन्धविच्छेद र अंश दिएर छुट्ट्याउने भन्दै श्रीमानले अदालतमा मुद्दा दिएको महिलाले जनाएका छन्। त्यसरी मुद्दा दिएपछि महिलाहरू श्रीमानप्रति आक्रोशित भएको प्रहरीको बुझाइ छ। त्यसरी मुद्दा दर्ता गराएका महिलाले तत्काल स्वास्थ्य परीक्षण(मेडिकल जाँच) गराउने गरेको पाइएको छ। प्रमाणका आधारमा जबर्जस्ती करणीको मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।