एजेन्सी-चन्द्रमाको पृष्ठभागको यसअघि अध्ययन भएको छैन।त्यसैले यो चिनियाँ अभियानले उक्त रहस्यमयी क्षेत्रबारे अनुसन्धान गर्ने अवसर दिएको छ।हामीले सधैँ देख्ने चन्द्रमाको रूपभन्दा पृथ्वीबाट कहिल्यै नदेखिने उक्त भाग निकै फरक छ। सो भागको सतह बढ्ता बाक्लो छ र त्यहाँ धेरै खाल्डाखुल्डी छन्।
चाँग-इ ४ यानले चन्द्रमाको दक्षिणी गोलार्धको छेउतिर रहेको १८० किलोमिटर क्षेत्रफलको भन कार्मान नामक क्रेटर वा खाल्डोमा अवतरण गरेको बताइएको छ।उक्त क्रेटर चन्द्रमाको अझ ठूलो खाल्डो रहेको दक्षिणी ध्रुवको एट्केन बेसिनकै क्षेत्रमा पर्छ।
सो बेसिन चन्द्रमाको सबभन्दा पुरानो, सबभन्दा ठूलो र गहिरो क्रेटर हो जुन अर्बौँ वर्ष पहिले कुनै क्षुद्रग्रह ठोक्किएपछि बनेको भन्ठानिन्छ।त्यस्तो क्षुद्रग्रह करिब पाँच सय किलोमिटर लम्बाइको भएको ठानिन्छ र त्यसको ठक्करका कारण चन्द्रमाको बाह्य सतहलाई छेडेर म्यान्टलसम्म प्रहारको प्रभाव परेको मानिन्छ।
चाँग-इ अभियानको एउटा प्रमुख उद्देश्य भनेको अझै सतहमाथि रहेको हुन सक्ने सो म्यान्टलका केही भागको अनुसन्धान गर्नु पनि हो। त्यसले चन्द्रमाको भित्री संरचना र इतिहासबारे ज्ञान दिन सक्छ।बिबिसी नेपाली