सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

चीन र ताइवान बिच तनाव बढ्ने संकेत

एजेन्सी – चिनियाँ राष्ट्रपति सि जिनपिङले ताइवानका जनतालाई चीनसँग “एकीकृत हुनैपर्ने”को लागि आग्रह गरेका छन्।ताइवानसँग सम्बन्ध सुधार भएको ४०औँ वर्षगाँठको अवसरमा दिइएको सम्बोधनमा सिले दुई देशबीच शान्तिपूर्ण एकीकरण गर्न र एक-देश-दुई-व्यवस्थाको नीतिमा बेइजिङ प्रतिबद्ध रहेकोबारे दोहोर्‍याएका छन्।

तर आवश्यक परे बल प्रयोग गर्ने अधिकार चीनसँग सुरक्षित रहेको उनले बताएका छन्।ताइवान स्वशासित भए तापनि बेइजिङ उसलाई आफूबाट छुट्टिएको प्रान्त ठान्ने गर्दछ।

चीनियाँ राष्ट्रपतिले दुवै पक्ष एउटै चिनियाँ परिवारको अङ्ग भएकोमा जोड दिँदै ताइवानको स्वतन्त्रता “इतिहासको उल्टो प्रवाह र कतै नपुगिने यात्रा” भएको बताए।सिले ताइवानका जनताले “स्वतन्त्रताले दु:ख कष्ट मात्रै बढाउने तथ्यलाई बुझ्नै पर्छ” भन्दै, बेइजिङले ताइवानी स्वतन्त्रतालाई मलजल गर्ने कुनै पनि गतिविधिलाई स्वीकार नगर्नेमा जोड दिए।

ताइवान एक स्वशासित प्रजातन्त्र हो। उसले सन् १९५० देखि सबै व्यावहारिक हिसाबले स्वतन्त्र देशको रूपमा काम गर्दै आएको छ। त्यतिबेला कम्युनिष्टहरूद्वारा पराजित चीनका राष्ट्रवादी सरकारका सदस्यहरू मुख्य भूभागबाट ताइवान भागेका थिए।

तर चीनले ताइवानलाई कुनै एक छुट्टै मुलुक नभई एक विद्रोही प्रान्त मान्दै आएको छ। पछिल्ला वर्षहरूमा ताइवानको मामिलामा चीन झनै सक्रिय बन्न थालेको देखिन्छ।

उदाहरणको लागि चीनले भन्न थालेको छ अन्य देशहरूले चीन र ताइवानसँग अलग अलग कूटनैतिक सम्बन्ध स्थापित गर्न पाउँदैनन्। उनीहरूले त्यस्तो सम्बन्ध कि चीनसँग राख्नु पर्छ कि ताइवानसँग राख्नु पर्छ; दुवैसँग होइन।चीनले कयौँ देशहरूलाई ताइवानसँगको सम्बन्ध तोडेर आफूसँग जोड्न बाध्य तुल्याइसकेको छ।साभार: बिबिसी नेपाली

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय