काठमाडौँ — नेपाल र जापानबिच नयाँ संयन्त्र स्थापना गरी नेपाली श्रमिक पठाउने सहमति भएको छ । नेपाल र जापानी प्रतिनिधिबिच काठमाडौँमा सम्पन्न द्विपक्षीय औपचारिक वार्तामा यस्तो सहमति भएको हो ।यसका लागि उच्चस्तरको समझदारी छिट्टै गर्न दुवै पक्ष तयार भएका छन् । बैठकमा नेपालले पारदर्शी र प्रतिस्पर्धी पद्धतिबाट उपयुक्त विधि, प्रणाली र संयन्त्रको विकास गरी आप्रवासनका क्षेत्रमा विश्वव्यापी रूपमा स्थापित भएका नविनतम् मान्यता एवं मापदण्ड अनुरूप श्रमिक पठाउने विषयमा जोड दिइएको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले नयाँ व्यवस्था अनुरूप जापानमा काम गर्न पाउने वातावरणको सिर्जना गर्न दुवै देशले थप गृहकार्य गर्ने सहमति भएको बताए ।बैठकमा जापानी पक्षले आफ्नो अध्यागमन सम्बन्धी संशोधित कानुनी व्यवस्था अनुसार विदेशी श्रमिकको व्यवस्थापन गर्ने सम्बन्धमा जापान सरकारबाट जारी भएका नयाँ कानुनी प्रावधानबारे औपचारिक रूपमा जानकारी गराइएको थियो ।