
एजेन्सी । कप्तान विराट कोहलीको शतक तथा महेन्द्रसिंह धोनीको अर्धशतकप्रेरित भारतले अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेट विजय हासिल गरेको छ ।
२ सय ९९ रनको लक्ष्य भ्रमणकारी भारतले चार बल बाकी छँदा ४ विकेट गुमाएर पूरा गरेको थियो । जितसँगै तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा भारतले १–१ को बराबरी गरेको छ । अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय शुक्रबार मेलबर्नमा हुनेछ । यसअघि सिड्नीमा सम्पन्न पहिलो एकदिवसीयमा अस्ट्रेलिया ३४ रनले विजयी भएको थियो ।
भारतका ब्याट्सम्यानले शुरुबाटै राम्रो शुरुआत गरे । ओपनरद्धय रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरे । शर्माले ४३ रन बनाए भने धवनले ३२ रन जोडे । १ सय ४ रन बनाएका कप्तान कोहलीले शर्मासँग दोस्रो विकेटका लागि ५४ रनको साझेदरी गरे भने अम्बती रायडुसँग तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे । कोहलीले त्यसपछि पूर्वकप्तान धोनीसँग ८२ रनको साझेदरी गरेका थिए ।
१ सय ४ बनाउनेक्रममा कोहलीले १ सय १२ बलमा ५ चौका र २ छक्का हानेका थिए । कोहलीको एकदिवसीयमा यो ३८औं शतक हो । कोहली आउट भएपछि धोनी र दिनेश कार्तिकले भारतलाई जिताएका थिए । धोनी ५५ बलमा अविजित रहे भने कार्तिक २५ रनमा अविजित रहे । अस्ट्रेलियाका जसोन बेहरेन्डोफ, झेइ रिचार्डसन, मार्कुस स्टोइनिस र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए ।

त्यसअघि शन मार्शले शतक बनाएपछि एडलेइड ओभलमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धायरित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९८ रन बनाएको थियो ।
एलेक्स क्यारी र एरोन फिन्च चाडै आउट भएपछि शन मार्श र उस्मान ख्वाजाले घरेलु टोलीको इनिङ उकासेका थिए । २३ बलमा २१ रन जोडेका ख्वाजाले मार्शसँग तेस्रो विकेट लागि ५६ रनको साझेदारी गरे । १८.३ ओभरमा ख्वाजा आउट भएपछि मार्शले पिटर ह्यान्डकोम्बसँग चौथो विकेटका लागि ५२ रनको साझेदारी । ह्यान्डसकोम्ब २० रन बनाएर पवेलियन फर्किए । दुई चौका हानेका ह्यान्डसकोम्ब आउट भएपछि मार्शले मार्कुस स्टोइनिससँग पाँचौं विकेटका लागि ५५ रनको साझेदारी गरे । ३ चौका सहित २९ रन बनाएका स्टोइनिस आउट हुँदा अस्ट्रेलिया ५–१८९ को स्थितीमा थियो ।
त्यसपछि मार्शले ग्लेन म्याक्सवेलसँग छैटौं विकेटका लागि ९४ रनको साझेदारी गरे । म्याक्सवेलले ३७ बलमा ५ चौका र १ छक्कासहित ४८ रन बनाए । ४८औं ओभरमा म्याक्सवेल आउट भए लगत्तै मार्श भुवनेश्वर कुमारको बलमा रविन्द्र जडेजामार्फत क्याच भए । मार्शले १ सय २३ बलमा ११ चौका र ३ छक्का हाने ।
भारतका भुवनेश्वर कुमारले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिए । मोहम्मद सामीले १० ओभरमा ५८ रन दिएर ३ विकेट लिए । रविन्द्र जडेको नाममा १ विकेट रह्यो ।
