लण्डन – यूरोपियन युनियनबाट आफ्नो देशलाई अलग्याउने प्रस्तावसहितको प्रधानमन्त्री टेरेसा मेको ‘ब्रेक्जिट डील’ लाई बेलायत संसदले अस्वीकृत गरिदिएको छ ।
मंगलबार बसेको संसद बैठकमा प्रधानमन्त्री टेरेसाले पेश गरेको सरकारको प्रस्ताव पक्षमा जम्मा २ सय २ जना सांसदले समर्थन जनाए भने विपक्षमा ४ सय ३२ सांसद थिए ।त्यसो त प्रधानमन्त्री टेरेसाको पार्टी कन्जरभेटिभकै १ सय १८ सांसदले पनि उनको विपक्षमा मत जाहेर गरेका छन् ।
केही महिनायता यूरोपियन युनियनबाट बेलायत अलग गर्न प्रधानमन्त्रीको पहल जारी रहँदा स्वयं प्रधानमन्त्रीको प्रस्ताव संसदबाटै अस्वीकृत भएको हो । यसले बेलायतमा प्रधानमन्त्री टेरेसा मे को राजनीति नै संकट ल्याउने संकेत हुन थालेको अन्तर्राष्ट्रिय मिडियाले टिप्पणी गरेका छन् ।सरकारकै प्रस्ताव संसदबाट अस्वीकृत भएको बेलायतको संसदीय अभ्यासमै यो पहिलो घटना समेत हो । जसले गर्दा प्रधानमन्त्री टेरेसामाथि नैतिक संकट उत्पन्न भएको छ ।