सुर्खेत — कर्नाटक राज्यको बैंगलोरबाट सुन चोर्ने नेपालीलाई पिछा गर्दै भारतीय प्रहरी सुर्खेत आइपुगेको छ । नेपाल प्रहरीको समन्वयमा ‘सुनचोर’ पक्राउ परेपछि भारतीय प्रहरी यहाँ आइपुगेको हो ।कर्नाटक प्रहरीका इन्स्पेक्टर मेलविन फ्रान्सीसको पाँच सदस्यीय टोली अहिले सुर्खेतमा छ। उत्तर प्रदेश प्रहरीको अर्को टोली रुपैडियामा रहेको फ्रान्सीसले बताए। उनका अनुसार डिसेम्बर २६ (पुस ११) मा बैंगलोरका रियलस्टेट व्यवसायी प्रवीन कुमारको घरमा काम गर्ने नेपाली कामदारले ३ दसमलब ८७ केजी सुनसहित चारवटा घडी, एउटा आइफोन र एउटा ल्यापटप चोरेका थिए।
सुनको मूल्यमात्र भारु १ करोड रहेको उनको भनाइ छ। ‘घरमालिक आफ्ना मरेका आफन्तको घरमा भेट्न गएका बेला उनीहरुले दिउँसो सुनलगायत सम्पत्ति चोरेर भागेका रहेछन्,’ इन्स्पेक्टर फ्रान्सीसले भने, ‘घरमा काम गर्ने एकजनालाई लकरमा थुनेर भागेछन्।’
कर्णाली प्रदेश प्रहरीको अनुसन्धान व्युरोले चोरीमा संलग्न चार जनामध्ये दुईजनालाई पक्राउ गरेको छ। ब्युरोले शनिबार मंगल शाहीलाई कालीकोटको लालुबाट र उनकी श्रीमतीलाई सुर्खेत पदमपुरबाट पक्राउ गरेको हो। ‘हाम्रो टोलीले आरोपितलाई पक्राउ गरी ल्याइसकेको छ, भारतीय प्रहरी पनि सुर्खेत आइसकेको छ,’ कर्णाली प्रदेश प्रहरीप्रमुख डीआइजी महेशबिक्रम शाहले भने, ‘विदेशमा काम गर्न गएर चोरी गर्ने प्रवृत्तिले नेपालकै बेइज्जत भइरहेको छ।’
वर्तमान कानुनअनुसार भारतमा गएर चोरी गर्ने व्यक्ति नेपालमा पक्राउ परेमा आरोपितलाई भारतमा बुझाउन मिल्दैन। नेपालमा समेत मुद्दा चलाउन कानुनी जटिलता छ। त्यसैले चोरी भएको सुन–सम्पत्ति दुरुस्त बरामद गरी बुझाउन सके ठूलो सफलता मानिन्छ।भारतीय प्रहरीका इन्स्पेक्टर फ्रान्सीसले नेपाल प्रहरीबाट सोही अपेक्षा गरिएको बताए। नेपाल प्रहरीले भने सुर्खेतमा रहेकी शाहीको श्रीमतीबाट ६ सय ५० ग्राममात्र सुन बरामद भएको जनाएको छ। कालीकोटबाट समेत सुनका गहना बारमद भएका र नापतौल भइरहेको सुर्खेतका निमित्त प्रहरीप्रमुख डीएसपी प्रदीप क्षेत्रीले बताए।कान्तिपुर दैनिकमा समाचार छ l