सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

यस्तो रहेको छ विश्व राजनीतिमा पारिवारिक बिरासत

एजेन्सी – विश्व राजनीति, त्यसमा पनि एसियामा वंश धान्ने परम्परा नौलो होइन । आफ्ना बाबुआमाको पदचाप पछ्याएर धेरै राजनीतिज्ञका छोराछोरी देशको कार्यकारी पदमा पुगेका छन् । अति कम विकसित देशदेखि शक्तिराष्ट्रहरूमा माकुराको जालोसरी परिवारवाद फैलिएको छ । कतिपय यस्ता गणतान्त्रिक देशसमेत छन् lएकै परिवारको मुठ्ठीमा शासनसत्ता कैद छ l

किम, उत्तर कोरिया
९ सेप्टेम्बर १९४८ मा किम इल सङको प्रिमियरसिपमा जनगणतन्त्र कोरिया स्थापना भयो । त्यसयता, बाँचुन्जेल कोरियाको शासनसत्ता उनकै हातमा रह्यो । उनले आफ्नो जन्म वर्षलाई पहिलो वर्ष मानेर नयाँ क्यालेन्डर नै जारी गरे । मृत्युका बाबजुद कोरियाको संविधानले उनलाई ‘कहिल्यै समाप्त नहुने’ नेताको उपमा दिएको छ । १९९४ मा सुङको निधनपछि छोरा किम जोङ इलले शासनसत्ता सम्हाले । २०११ मा किम जोङको निधन भयो । त्यसपछि अहिले नाति किम जोङ उन कार्यकारी पदमा छन् । सङकी आमा जो स्वतन्त्रता संग्राममा सक्रिय योद्धामध्ये एक थिइन्, उनलाई ‘उत्तर कोरियाकी आमा’ उपमा दिइएको छ ।

नेहरू–गान्धी,भारत

सन् १९४७ मा ब्रिटिस शासनबाट मुक्त भएयता भारतीय राजनीतिमा नेहरू–गान्धी परिवारले झन्डै ४० वर्ष पकड जमाएको इतिहास छ । भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूकी छोरी इन्दिरा गान्धी र नाति राजीव गान्धी पनि प्रधानमन्त्री बनिसकेका छन् । राजीवकी श्रीमती सोनिया गान्धी केही समयअघिसम्म कंग्रेस आईकी अध्यक्ष थिइन् । अहिले उनका छोरा राहुल गान्धी यो पदमा छन् र उनलाई भारतको भावी प्रधानमन्त्रीका रूपमा हेरिएको छ ।

भर्खरै मात्र राहुलकी बहिनी प्रियंका गान्धी सक्रिय राजनीतिमा होमिएकी छिन् । ४७ वर्षको उमेरमा भर्खरै कंग्रेस महासचिव नियुक्त प्रियंकालाई दुई महिनापछि हुने लोकसभा निर्वाचनका लागि उत्तर प्रदेश राज्य हेर्ने जिम्मेवारी दिइएको छ ।

असद, सिरिया
सिरियाको शासनसत्तामा लामो समयदेखि असद परिवारको पकडमा छ । सन् १९७१ देखि २००० सम्म हाफिज अल असद राष्ट्रपति थिए ।  पछिल्लो १९ वर्षयता छोरा बसर अल असदले शासन गरिरहेका छन् । सन् १९९४ मा कार दुर्घटनामा निधन हुनुअघि बसरका जेठा दाइ बसिद अल असद पनि राजनीतिमा सक्रिय थिए । बाबुको बिरासत उनले नै थाम्ने अनुमान गरिएको थियो ।

ट्रयुडेउ, क्यानडा
अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनलाई सन् १९९२ मा क्यानडाको राजकीय भ्रमणका वेला तत्कालीन प्रधानमन्त्री पिर्रे इलियोट ट्र्युडेउले भव्य डिनरसहित स्वागत गरेका थिए । इलियोटका ४ महिने छोरालाई देखेपछि निक्सनले जिस्कँदै ‘भावी प्रधानमन्त्री’ भनेका थिए । नभन्दै यस्तै भयो । सन् २०१५ यता जस्टिन ट्र्युडेउ क्यानडाका प्रधानमन्त्री छन् । अघिल्लो वर्ष एक अमेरिकी टेलिभिजन सोमा दिएको अन्तर्वातामा जिस्कँदै जस्टिनले आफ्नी छोरी देशको प्रधानमन्त्री बनेको हेर्ने इच्छा व्यक्त गरेका थिए ।

ली, सिंगापुर

ली क्वान सन् १९५९ देखि १९९० सम्म सिंगापुरका प्रधानमन्त्री थिए । उनकै शासनकालमा सिंगापुर आर्थिक रूपमा समृद्ध बन्यो । सन् २००४ यता उनका छोरा ली हस्नी लङ प्रधानमन्त्री छन् ।

क्यास्ट्रो, क्युवा

सन् १९५९ को क्रान्तिपछि फिडेल क्यास्ट्रो क्युवाका सर्वोच्च नेता बने । सन् २००६ सम्म उनी शक्तिमा थिए । अस्वस्थताका कारण उनले आफ्ना भाइ राहुललाई सत्ता हस्तान्तरण गरे । सन् २००८ मा राहुल क्युवाको राष्ट्रपति चुनिए । सन् २०११ देखि राहुल कम्युनिस्ट पार्टी अफ क्युवाका प्रथम महासचिव छन् । राहुलले गत वर्ष राष्ट्रपति पद छाडे । त्यसयता मिगुइल डियाज क्यानल राष्ट्रपति छन् । तर, पार्टीको सर्वोच्च पदमा राहुल नै छन् । साभार : नया पत्रिका

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय