एजेन्सी – विश्वका शीर्ष २६ धनी मानिससँग विश्वको आधा जनसंख्याको हिस्सा बराबर सम्पत्ति रहेको छ l धेरैलाई पत्याएर नलाग्न सक्छ । ब्रिटिस च्यारिटी संस्था अक्सफामले जारी गरेको एक रिपोर्टमा उक्त कुरा उल्लेख गरिएको छ ।
अक्सफामले यो विकराल असमानताको अवस्था अन्त्य गर्न सरकारहरुले तत्काल कदम नउठाए गम्भीर अवस्था भोग्नुपर्ने चेतावनी समेत दिएको छ । समाधानका लागि ‘अति’ धनीहरुमाथि हालको कर दर बढाउनुपर्ने र सार्वजनिक सेवामाथिको लगानी बढाउनुपर्ने संस्थाको सुझाव छ ।
स्वीट्जरल्याण्डको दाभोसमा आयोजना हुन लागेको ‘वल्र्ड इकोनोमिक फोरम’ अघि प्रकाशित उक्त रिपोर्टमा सन् २०१८ मा प्रत्येक दिन अर्बपतिकोहरु सम्पत्ति दैनिक २.५ अर्ब अमेरिकी डलरले बढेको पाइएको उल्लेख छ ।
विश्वको सबैभन्दा धनी व्यक्ति अमेजनका सिइओ जेफ बेजोजको एक्लैको सम्पत्ति अघिल्लो वर्ष ११२ अर्ब अमेरिकी डलर बढेको थियो । अक्सफामले उनको सम्पत्तिको एक प्रतिशत १०.५ करोड जनसंख्या भएको इथियोपियाको सम्पूर्ण स्वास्थ बजेट बराबर रहेको तर्फ औल्याएको छ ।
धनी र गरिबबीचको बढ्दो खाडलले गरिबीविरुद्धको लडाईंलाई असर गरिरहेको, अर्थतन्त्रलाई क्षति पुयाइरहेको र सर्वसाधरणमा संस्थापनप्रति आक्रोश बढाएको अक्सफर्मको निश्कर्ष बताएको छ ।
अक्सफामले विश्वभरका सरकारहरुले स्वास्थ सेवा र शिक्षाजस्ता सार्वजनिक सेवामा लगानी र धनीमाथिका करको दर घटाएर असमानतालाई बढाउन योगदान गरिरहेको आरोप लगाएको छ ।
असमानताका कारण विश्वका कैयन देशमा धनीहरुमाथि कर बढाउनुपर्ने माग पनि उठिरहेको छ ।
अमेरिकी संसदमा पहिलो पटक निर्वाचित स्वघोषित लोकतान्त्रिक समाजवादी नेता एलेक्जेण्ड्रिया ओकासियो–कोर्टेजले केही अघि अति–धनीहरुमाथि ७० प्रतिशतसम्म कर लगाउनुपर्ने बताएर चर्चामा आएकी थिइन् ।
एलेक्जेण्ड्रियाको उक्त प्रस्ताव राष्ट्रपति डोनाल्ड ट्रम्पले धनीहरुमाथि लागिरहेको ३९.६ प्रतिशतको कर घटाएर ३७ प्रतिशत बनाउने निर्णयपछि आएको थियो ।