काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले वाइडबडी खरिदमा भ्रष्टाचार भएको ठहर गर्न थप अनुसन्धान आवश्यक रहेको दावी गरेका छन्।
मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा बास्कोटाले संसदको सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले वाइडबडी खरिदमा भ्रष्टाचार भएको ठहर साँचो भएपनि पर्याप्त नहुन सक्ने बताएका हुन्।
बास्कोटाले उपसमितिले बुझाउनुभन्दा पहिले नै सार्वजनिक भएको विषयमा पनि सरकारको तर्फबाट धारणा राखेका छन्। उनले अभियोग लाग्दैमा कोही दोषी ठहर नहुन सक्ने जिकिर गर्दै वाइडबडी विमान खरिद भ्रष्टाचारमा मुछिएका पर्यटनमन्त्री रबिन्द्र अधिकारीको बचाउ गरेका छन्।
भ्रष्टाचारको अभियोग लागेका मन्त्री अधिकारीमाथि कारबाही हुन्छ? भन्ने प्रश्नमा प्रतिवाद गर्दै प्रवक्ता बास्कोटाले वाइडबडी खरिदको विषयमा थप छानबिन गर्न सरकारले न्यायिक समिति गठन गर्न सक्ने बताए। ‘वाइडबडी खरिद भ्रष्टाचारको विस्तृत छानबिन हुन बाँकी, त्यसैले अहिले यो नै भइहाल्छ भन्नु बुद्धिमानी होइन,’ उनले भने।सरकारले कानुनी प्रावधानलाई मानेर न्यायिक समिति गठन गर्न सक्ने बताउँदै बास्कोटाले यस विषयलाई सरकारले गम्भीर रुपमा लिएको उल्लेख गरे।
‘तर, कसैलाई भ्रष्टाचारको केस लागेमा गोलमोटल कारबाही हुन्न,’ उनले त्यसअघि भने, ‘भ्रष्टाचारप्रति शुन्य सहनशीलता सरकारको नीति हो।’त्यसैगरी, कैलालीको टीकापुरकाण्डको दोषी रेशम चौधरीलाई सांसद पदमा सपथग्रहण गराइएको सम्बन्धमा प्रष्टीकरण दिँदै बास्कोटाले न्यायिक निरुपणका कारण बास्कोटाको संसदको बाटो खुल्ला गरिएको बताए।