सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

सरकारले सबै औद्योगिक प्रतिष्ठानलाई असार मसान्तभित्रै सामाजिक सुरक्षा कार्यक्रममा सामेल गर्ने

काठमाडौं – सरकारले सबै औद्योगिक प्रतिष्ठानलाई चालु आर्थिक वर्षको असार मसान्तभित्रै सामाजिक सुरक्षा कार्यक्रममा सामेल गर्ने भएको छ। औपचारिक क्षेत्रका सबै रोजगारदाता तथा श्रमिकलाई असारभित्रै सुरक्षा कार्यक्रममा सामेल गराइसक्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार हालसम्म ६ सय २५ रोजगारदाता कार्यक्रममा सूचीकृत भइसकेका छन्। प्रदेश ३ का अधिकांश औद्योगिक प्रतिष्ठान सामेल भएका छन्। अन्य प्रदेशका सूचीकृत हुन केही दिनअघिदेखि मात्रै सुरु भएको छ। सूचीकृत भएका मध्ये दुई सय ७२ रोजगारदातालाई सरकारले सोमबार प्रमाणापत्र वितरण गरेको छ। प्रमाणपत्र पाएका ती रोजगारदाताले तीन महिनाभित्र आफ्ना श्रमिकको विवरण पठाउनुपर्नेछ। प्रक्रिया पूरा भइसकेपछि कोषमा पैसा जम्मा गर्न सरकारले फरि सूचना जारी गर्नेछ।

सरकारले मंसिर ११ गते बृहत कार्यक्रम गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको थियो। सरकारले यस योजना कार्यान्वयन गर्न तीन महिनाको अवधि दिएर रोजगारदातालाई सूचीकृत हुन निर्देशन दिएको थियो। तर, एक महिना अवधि मात्र बाँकी रहँदा अधिकांश औद्योगिक प्रतिष्ठान कोषमा सामेल भइसकेका छैनन्।

मन्त्री गोकर्ण विष्टले रोजगारदाताको संख्यामा कमी देखिए पनि अहिलेसम्मको तथ्यांक विश्लेषण गर्दा धेरैलाई रोजगारी दिने कम्पनी सामेल भइसकेको जानकारी दिए। ‘देशका ठूला औद्योगिक प्रतिष्ठान यस कार्यक्रममा सामेल भइसकेका छन्’, उनले भने,‘अन्य रोजगारदाता पनि छिट्टै सामेल हुनेछन्।’

मन्त्री विष्टले सबै रोजगारदातालाई सामेल गर्न उद्योग, वाणिज्यका नेता तथा श्रमिकका नेतासँग छलफल गर्ने तयारी भएको बताए। ‘तोकिएको समयभित्र सबै रोजगारदाता आइसक्नेछन्, ‘उनले भने, ‘हामी त्यसका लागि थप मेहनत गर्नेछौं।’ सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजनामा श्रमिकको न्यूनतम पारि श्रमिकको ३१ प्रतिशत योगदान हुन्छ। औद्योगिक, प्रतिष्ठानमा कामदार गर्ने मजदुरले सामाजिक सुरक्षा कोषमा अब आधारभूत पारि श्रमिकको ११ प्रतिशत योगदान गर्नुपर्छ भने रोजगारदाताले २० प्रतिशत योगदान गर्नुपर्नेछ।साभार : अन्नपुर्ण पोस्ट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय