काठमाडौं–सरकारी अनुगमन फितलो भएकाले सर्वोच्च शिखर सगरमाथामा मानव मलमूत्र र अन्य फोहोर थुप्रिँदै गएको पर्वतारोहण क्षेत्रमा संलग्न व्यक्तिहरूले बताएका छन्।एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। त्यसपछि सगरमाथामा स्वदेशी तथा विदेशी आरोहीहरू ओइरिने क्रम बर्सेनि बढिरहेको छ।
फोहरमैला व्यवस्थापन प्रभावकारी हुन नसक्दा सगरमाथाको उच्च भागमा आरोहण सामग्रीदेखि मलमूत्रजस्ता मानवजन्य फोहोरमैला नियन्त्रण हुन नसकेको सगरमाथाबाट फर्किएका आरोहीहरूले बताएका छन्।सगरमाथा आरोहण गरेर फर्किने आरोहीले आफ्नो फोहरमैला फिर्ता ल्याउनुपर्ने बाध्यकारी व्यवस्था छ। तर त्यो कागजमै सीमित देखिएको छ।
सगरमाथा आधार शिविरदेखि माथिका भूभागमा अनुगमन हुन नसक्दा नियमको पालना नभएको र फोहोरमैला थुप्रिने गरेको जानकारहरू बताउँछन्।
आरोहणको क्रममा उनीहरूले गर्ने दिसापिसाब र प्रयोग गरेर छोड्ने सामग्रीले सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्मका क्षेत्रमा फोहोर देखिएको सगरमाथाबाट फर्केका आरोहीहरूले बताएका छन्।