सिरी सत्याल ,सौल दक्षिण कोरिया
नेपाली विद्यार्थी समाज कोरिया (सोनसिक) ले आफ्नो सातौ शैक्षिक सेमिनार यही डिसेम्बर २९ / ३० तारिख दक्षिण कोरियाको इक्सान स्थित वोनखोङ्ग विश्वविद्यालयमा भव्यतापूर्वक सम्पन्न गरेको छ l दुई दिन सम्म चलेको कार्यक्रममा पहिलो दिन “ नेपालको संघीय शिक्षा नीतिमा प्रवासमा रहनुभएका नेपालीहरुको भूमिका “ विषयक कार्यशाला गोष्ठी आयोजना गरिएको थियो l
सो कार्यशालामा डा.अग्नि कोइराला,डा. देवी ब. बस्नेत तथा डा. एकराज बरालले सहजकर्ताको भूमिका निभाउनु भएको थियो l केन्द्रीय राज्य प्रणालीको लामो इतिहास बोकेको मुलुकले संघीयतामा शिक्षाका मुद्दा कसरी सही र ब्यबस्थित समाधानको स्वरुप निर्धारण गर्ला भन्ने मा सबैको चासो भए अनुरुप प्रवासमा रहनुभएका नेपालीहरुको पनि त्यति नै चासो रहेको, अझ कोरियामा प्राध्यापक तथा अनुशंधान्कर्ताको रुपमा कार्यरत रहदै आएका बिज्ञहरुबाट अवको संघिय शैक्षिक ब्यबस्था कस्तो रहदा लाभ हुन्छ भन्ने विषयमा बृहत छलफल भएको थियो ।
छलफलको क्रममा पाठ्यक्रम, पाठयपुस्तक, पठन–पाठन प्रणाली, अनुगमन, सम्बन्धन, मूल्यांकन, गुणस्तरीय मापन, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय समकक्षता आदि विषयमा कस्तो नीति नियम तर्जुमा गर्दा नेपालको समग्र शिक्षा व्यवास्था वैज्ञानिक हुन्छ भनेर बृहत छलफल भएको थियो l समुहगत रुपमा भएको छलफलको निष्कर्षलाई प्रतिवेदनको स्वरूप दिएर नेपाल सरकारको सबन्धित निकायमा बुझाउने योजना रहेको कुरा सोनसिक सभापति तुलसी पौडेलले बताउनु भयो ।
साथै दोस्रो दिन “ नेपालको विकाश र अनुसन्धानमा प्रवासी नेपालीको भूमिका “ विषयमा सेमिनार भएको थियो l उक्त कार्यक्रममा सोन्सिकका सभापति तुलसी पौडेलले सभापतित्व गर्नु भएको थियो भने प्रमुख अथितीमा कोरियाका लागी नेपाली राजदुतावासका उप-नियोग प्रमुख क्रिरण शाक्य , विशेष अथितीमा वोनखोङ्ग विश्वविद्यालयक अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका निर्देशक प्रो.डा.चुंग सु जिन तथा एन.आर.एन. दक्षिण कोरियाका अध्यक्ष लक्ष्मी गुरुङ ,अथितिहरुमा सम्दोंग अन्तर्राष्ट्रियका निर्देशक किम. दो यौंग , सोन्सिकका पूर्व सभापतिहरु, वर्तमान तथा पुर्व सल्लाहकारहरुको उपस्थिति रहेको थियो l
कार्यक्रममा कोरिया मा अध्ययनरत विद्यार्थी तथा विज्ञहरुको बाक्लो उपस्थिति रहेको थियो l कार्यक्रममा प्रमुख अथिती शाक्यले नेपाली डायस्पोराहरुले गरेको अध्ययन अनुसन्धान र अहिले भएको बहस उपयुक्त र सान्दर्भिक भएको बताउनुभयो l सोन्सिकले गरेका प्राज्ञिक कार्यहरुको प्रसंशा गर्दै आगामी दिनमा पनि यस्ता कार्यगरी देश बिकासमा टेवा पुराउन सक्नेछ भन्ने शुभकामना ब्यक्त गर्नु भएको थियो । “हामीले आर्जेको सिप र ज्ञान सहि ठाउँमा उपयोग गर्दा आफू मात्र नभई आफ्ना भाबी सन्ततिका लागि पनि महत्वपूर्ण हुनेछ” अध्यक्ष गुरुङले भन्नु भयो ।
सेमिनारमा डा. देबी बस्नेत, डा. अग्नि कोइराला, डा. रमेश पाण्डे, डा. संजय पौडेल, डा. रमाकान्त लामिछानेले नेपालको अनुसन्धान र विकासमा आफुले गरेका अनुसन्धानलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्रस्तुतीकरण दिनुभएको थियो l प्रा.डा. भानु श्रेष्ठ ,डा माधब न्यौपाने, डा. कृष्ण ढकाल, डा. तारामान कडायत, प्रा.डा. मधुसुधन आतरेय,डा. बालकृष्ण घिमिरे तथा डा. सुशील भण्डारीले सहजकर्ताको रुपमा भुमिका निभाउनु भएको थियो l त्यसै गरि डा. बोजिन्द्र तुलाचन, डा. प्रदिप अधिकारी , डा.राघबेन्द्र दत्ता , श्रीकृष्ण आचार्य र रमेश परियारले पनि आफुले गरेका अनुशन्धानको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो l
कार्यक्रमको अर्को आकर्षणका रुपमा हेरिएको नेपाली भेषभुषामा सजिएर विधार्थीहरुको नेपाली मौलिक शैलीका गीत र नृत्यहरूले कार्यक्रम थप मनोरंजनमय भएको थियो । विदेशमा रहेता पनि यस्तो नेपाली कला, भाषा र संस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने सस्थाको सांस्कृतिक बिभाग संयोजक टोंकिंग बास्तोलाले बताए । यसै क्रममा सोनसिकको १४औ कार्यसमितिलाई विदाई कार्यक्रम पनि आयोजना गरिएको थियो l
सभापति पौडेलले पुर्व कार्यसमिति पदाधिकारीहरुलाई दोसल्ला ओढाएर मायाको चिनो प्रदान गर्नुभएको थियो l सोनसिकले स्थापना काल देखिनै कोरियामा रहेका नेपाली बिद्यार्थीहरुलाई लक्षित गर्दै विभिन्न किसिमका शैक्षिक कार्यक्रमहरु गर्दै आइरहेको छ जुनमा शैक्षिक सेमिनार एक महत्वपूर्ण कार्यक्रम रुपमा हेरिएको छ ।
सेमिनारमा कोरियाका विभिन्न विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरु,कोरियामा प्राध्यापक तथा अनुशंधान्कर्ताको रुपमा कार्यरत रहदै आएका बिज्ञहरु तथा प्रवासी नेपाली समुदायको उल्लेख्य सहभागिता ले सोनसिकलाइ आगामी दिनमा अझ प्रभाकारी कार्यक्रम ल्याउन प्रेरणा मिलेको संस्थाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक प्रकाश देवकोटाले जानकारी गराउनुभयो ।