सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

अमेरिकाबाट मेकानिकल इन्जिनियरिङ उत्तीर्ण युवा गाउँ फर्केर होटलमा भान्से बने

लेखनाथ — अमेरिकामा मेकानिकल इन्जिनियरिङ उत्तीर्ण युवाको योजना के हुन सक्छ ? भरसक अमेरिकामै राम्रो जागिर खोज्ने । जिन्दगी उतै ‘सेटल’ गर्ने । कास्की घान्द्रुकका राहुल क्षत्री भने गाउँ फर्किए । बुबाको होटलमा भान्से बने । घान्द्रुक–घोरेपानी–पुन हिल पदमार्गमा पर्ने टाडापानीमा ८ होटल छन् । तीमध्ये होटल पानोरामा प्वाइन्ट राहुलको परिवारले चलाउँछ । उनी होटलमा खाना बनाउँछन् । पर्यटकसँग अर्डर लिन्छन् । वेटर आफैं बन्छन् । फोन उठाएर ‘बुकिङ’ लिन्छन् । भेटेजति काम गर्छन् । २८ वर्षीय राहुल इन्जिनियरिङ पढेर पनि होटल सम्हादै आएका छन् ।

 

घान्द्रुक मेलाचेका उनले एसईईसम्म पर्वतको कुश्मामा पढे । पोखराबाट विज्ञानमा ‘ए लेभल’ सकाए । उच्च शिक्षा अध्ययन गर्न विदेश नै जाने साथीसँग सल्लाह भइरहेको थियो । अस्ट्ेरलिया, न्युजिल्यान्ड र अमेरिकामध्ये एक देश जाने उनको इच्छा थियो । दुई वर्षपछि अमेरिकाको भिसा लाग्यो । इदाहो स्टेट युनिभर्सिटीमा ५० प्रतिशत छात्रवृत्ति पाएर मेकानिकल इन्जिनियरिङमा स्नातक गरे ।

साढे ५ वर्ष अमेरिका बसेपछि उनलाई लाग्यो, ‘अब नेपालमै फर्किन्छु ।’ उनले आफ्नो होटलमा राम्रो कारोबार भएको देखेका थिए । पर्यटकसँग बोल्न पाउँदा उनलाई रमाइलो लाग्थ्यो । अन्नपूर्ण र माछापुच्छ्रे हिमालको छाया, गाउँका टारी खेत, पाखापखेरा खुब सम्झिए । बुबालाई नेपाल नै फर्किने योजना सुनाए । बुबाले पनि नाइँनास्ती गरेनन् । ६ महिना भयो उनी नेपाल फर्किएका ।

होटलमा पाए जति काम गर्नु उनका दैनिकी बनेको छ । ‘यहाँ छरछिमेक, आफन्तले अमेरिका छोडेर किन आइस् भने गाली गर्छन् कि जस्तो लागेको थियो,’ उनले भने, ‘तर, त्यस्तो भएन । धेरैले सकारात्मक रूपमा लिनुभयो ।’ उनी स्वयंलाई पनि यहाँ आएकोमा कुनै पछुतो छैन । अमेरिकामा भन्दा गाउँकै होटलमा बस्दा कमाइ र सन्तुष्टि बढी भएको उनको अनुभव छ ।

‘उहाँ कमाएअनुसार खर्च हुन्छ,’ उनले भने, ‘५ हजार डलर महिनाको कमाइ छ भने कर, स्वास्थ्य बिमा, खाना, फ्ल्याट भाडा, गाडीको करमा २५ सय सकिन्छ ।’ जोगाउन जाने नेपालको कमाइले जित्ने अनुभव उनी सुनाउँछन् । हुन पनि उनको होटलमा पर्यटकीय मौसममा दिनमै एकदेखि डेढलाख रुपैयाँसम्म कमाइ हुन्छ । गाउँ फर्किनुको पछाडि अर्को एउटा कारण पनि उनले खुलाए । अन्नपूर्ण गाउँपालिका ११, मेलाचेमा गाउँको लगभग आधा जग्गा राहुलको परिवारको नाममा छ ।लेकसाइडमा पनि छिट्टै होटल खोल्ने योजना बनाएका छन् । इन्जिनियरिङ पढाको अनुभव अप्रत्यक्ष रूपमा प्रयोग भइरहेको उनी बताउँछन् । कमाइ र बचतबीच सन्तुलन मिलाउन सक्ने हो भने युवा विदेशिनु नपर्ने उनको बुझाइ छ ।कान्तिपुर दैनिकमा समाचार छ l
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय