एजेन्सी – किमका पिता किम जङ–इल पनि हवाई जहाजबाट यात्रा गर्नुलाई राम्रो मान्दैनथे । २००२ मा उनी तीन हप्ताको रुसको यात्रामा निस्केका थिए । त्यतिबेला उनीसँगै यात्रा गरेका एक रुसी कर्मचारीका अनुसार, यो रेलमा विश्वको सर्वाधिक महङ्गो वाइन र बारबिक्यु पनि हुन्थ्यो । र, ट्रेनमा शानदार पार्टी पनि हुन्थ्यो । किम जङ–इलले त्यही रेलबाट १०–१२ पटक चीनको यात्रा गरेका थिए ।
सिनियर किम लामो यात्राको लागि पनि रेल नै प्रयोग गर्थे । सन् १९८४ मा उनी यही रेलमा पूर्वी युरोपसम्म पनि पुगेका थिए । अफसोच ! उनको मृत्यु पनि हृदयघातका कारण रेलभित्रै भयो । तर, जुन ट्रेनमा किम जङ–उन वा उनका पिता यात्रा गर्थे त्यो रेल कुनै साधारण रेल थिएन ।
न्युयोर्क टाइम्सका अनुसार बेइजिङमा देखिएको उक्त रेलमा २१ वटा हरिया रंगका कोच थिए । झ्यालमा ‘टिटेड’ सीसा पनि थियो । जसले गर्दा रेलभित्र को यात्रा गरिरहेको छ भन्ने थाहा पाईंदैन । उक्त रेलबारे त्यही रेलमा यात्रा गरेका केही कर्मचारी वा खुफिया रिपोर्ट को आधारमा मात्रै थाहा पाउन सकिन्छ ।
दक्षिण कोरियाको सन् २००९ को रिपोर्टका अनुसार किम जङको लागि कम्तिमा पनि ९० कोच भएको ‘हाई सेक्युरिटी’ रेल तयार हुन्छ । यही रिपोर्टका अनुसार किमका पिता किम जङ–इल जब यात्रामा निस्कन्थे, उनी तीनवटा रेलको प्रयोग गर्थे । त्यसमा एउटा ‘एड्भान्स सेक्युरीटी’ रेल हुन्थ्यो भने, अर्काे किमको रेल हुन्थ्यो । यसैगरि तेस्रो रेल अतिरिक्त सेक्युरीटी र अन्य सामानको प्रयोग गर्थे ।
रेलका हरेक डिब्बा बुलेट प्रुफ छन् । जो सामान्य रेलको तुुलनामा निकै सुरक्षित मानिन्छ । यसको ताैल धेरै हुनाले प्रतिघन्टा ३७ माइलको गतिमा यो गुड्छ । २००९ को रिपोर्टका अनुसार किम जङ–इलको एड्भान्स रेलमा १ सय सुरक्षाकर्मी हुन्थे ।
र, स्टेशनको जाँच गर्ने जिम्मा तिनीहरूको हुन्थ्यो । यो सँगै सुरक्षा व्यवस्था चुस्त बनाउन त्यसको माथी सैन्य हेलीकप्टर र हवाईजहाज पनि उड्थे । अर्काे चाखलाग्दो कुरा त के भने उत्तर कोरीयामा २२ रेलवे स्टेशन यस्ता छन्, जो किम जङको प्रयोगका लागि मात्रै बनाइएको छ ।