सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

गाउँपालिकाको पहलमा घरमै डाक्टरी सेवा

दाङ —गाउँपालिकाको पहलमा घरमै डाक्टरी सेवा पाएपछि देवीकोटका बासिन्दा पनि निकै खुसी छन् । राप्ती गाउँपालिकाले घरघरै डाक्टर पुर्‍याउने योजनाअन्तर्गत गाउँपालिकाका विकट क्षेत्र छनोट गरी सेवा सुरु गरेको हो । गाउँपालिकाले आफ्नै स्रोतमा डाक्टर राखी तीन महिनादेखि सिसहनिया र भालुबाङ स्वास्थ्य चौकीबाट नियमित सेवा दिंदै आएको थियो ।

तारा गाहा मगरलाई रक्तश्राव भएको लामो समय भएको थियो । चार छोरी र दुई छोराकी आमा भइसकेकी गाहाले स्वास्थ्य अवस्था निकै कमजोर भइसक्दा उपचारमा जान पाएकी थिइनन् ।गाउँमै डाक्टर आएपछि उनले समस्या राख्न पाइन् । ‘घरमा छोराछोरी स्याहार्नै ठिक्क हुन्छ । कतिबेला अस्पताल जानू ? दिनभर हिंडेर जानै सकिँदैन,’ उनले भनिन्, ‘अहिलेसम्म सहेरै बसेकी थिएँ । गाउँमै डाक्टर आएपछि देखाउन पाएँ, औषधि दिनुभएको छ ।’

२९ वर्षीया पवित्रा घर्तीकी चार महिनाकी छोरी सुनीतालाई खोकी, पखाला र ज्वरोले सताएको एक साता भइसके पनि उनले जँचाउन पाएकी थिइनन् । घरमै टुप्लुक्क डाक्टर आइपुग्दा उनी अचम्म परिन् । ‘घरमै छोरी जँचाउन पाएँ,’ उनले भनिन्, यसरी सधैं डाक्टर भेटिने भए त कति सजिलो हुन्थ्यो ।’विकट बस्तीका बासिन्दा स्वास्थ्यचौकीसम्म पुग्न नसक्ने भएपछि शुक्रबारदेखि विकट गाउँका घरघरमै पुगेर अशक्तलाई जाँच गर्न सुरु गरिएको हो । ‘विकट गाउँका सबै बासिन्दा स्वास्थ्यचौकी पुग्न समस्या भयो । त्यसपछि घरमैपुगेर सेवा दिन थालेका हौं,’ डा. पुष्प भुसालले भने, ‘महिला, बालबालिका र वृद्धवृद्धा स्वास्थ्यचौकी पुग्न नसकेर घरमै थलिएका रहेछन् ।’

पहाडमा ढाडको भरमा धेरैजसो काम गर्नुपर्ने भएकाले अधिकांशमा ढाड दुख्ने समस्या र महिलामा पाठेघर खस्ने समस्या धेरै रहेको उनले बताए । ‘बिरामीको आर्थिक अवस्था कमजोर भएकाले सबैलाई नि:शुल्क औषधि वितरण गरिएको छ,’ उनले भने, ‘विकट बस्तीमा घरदैलो उपचार सेवालाई निरन्तरता दिएर सबैलाई आधारभूत स्वास्थ्यको अधिकार प्रत्याभूत गराउने लक्ष्य छ ।’कान्तिपुरमा समाचार छ l
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय