एजेन्सी – चीनको अन्तरिक्ष अभियान चांग’अ ले चन्द्रमामा लिएर गएका केही बीउहरू टुसाएको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ।चन्द्रमामा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो घटना हो।
मङ्गलवार चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार चन्द्रमामा पठाइएका कपासको बीउ उम्रिएर तिनमा पालुवा लाग्न थालेको छ।यसलाई लामो समय लाग्ने अन्तरिक्ष अन्वेषण अभियानका सम्बन्धमा उल्लेखनीय कदम भनिएको छ।
चिनियाँ अन्तरिक्ष यानले चन्द्रमामा लगेका बीउहरू टुसाएको समाचार सार्वजनिक भएपछि त्यसबारे सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भइरहेको छ।आफ्नो अन्तरिक्ष अभियान चांग’अले चन्द्रमामा लिएर गएका केही बीउहरू टुसाएको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले मङ्गलवार जनाएको थियो।
चीनको चांग’अ फोर नामको अन्तरिक्ष वाहन पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो भागमा अवतरण गर्ने पहिलो वाहन बनेको थियो।उक्त यान गत जेनुअरी ३ का दिन चन्द्रमाको पछाडि पट्टिको क्षेत्रको भौगोलिक अनुसन्धान गर्ने उपकरणहरूसहित त्यहाँ अवतरण गरेको थियो।