काठमाडौ,वेलायतकी प्रधानमन्त्री थेरेसा मेले आफूविरुद्धको अविश्वासको प्रस्तावमाथि जीत हासिल गरेकी छिन् ।
ब्रेक्जिट योजनालाई संसदका सदस्यहरुले खारेज गरेपछि प्रधानमन्त्री मेमाथि अविश्वास प्रस्ताव गरिएको थियो । सो प्रस्तावमाथि बुधबार मतदान भएको हो ।
प्रमुख प्रतिपक्षी दलका नेता जेरेमी केर्बिनले आह्वान गरेको सो प्रस्तावको पक्षमा ३०६ र प्रधानमन्त्री मेको पक्षमा ३२५ मत आएको थियो ।
यसअघि पनि विपक्षी नेता केर्बिनले मेलाई पदबाट राजीनामा दिन आह्वान गरेका थिए ।
अविश्वास प्रस्तावमाथि मतदान अघि नै मेले सो प्रस्तावमाथि जीत हासिल गर्ने अपेक्षा गरिएको थियो । उनले आफ्नै दलभित्रका आफ्ना विरोधी र उत्तरी आइरिस डेमोक्रेटिक युनियन दलको सहाराले आफ्नो अल्पमतको सरकार बचाउन सफल भएकी हुन् ।
मेले गए राती सो परिणामलाई स्वागत गर्दै भनिन्,‘यो सरकारमाथि सदनले विश्वास व्यक्त गरेको कारण म एकदमै आभारी छु । म ब्रेक्जिटको जनमतसंग्रहबाट परिणाम ल्याउने विषयमा प्रतिबद्ध छु ।’एजेन्सीको सहयोगमा