काठमाडौं – पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालको नाममा रहेका अस्पताल विघटन गर्ने तयारी गरिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको दाबीमा सत्यता नरहेको सरकारले जनाएको छ ।
बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दैै सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले कोइरालाद्वयको नाममा रहेको अस्पताल विघटन गर्ने निर्णय सरकारले नगरेको बताएका हुन् ।
प्रवक्ता बास्कोटाले कांग्रेसले मनगढन्ते कुरा गरेको आरोप लगाए । उनले भने, ‘नामका आधारमा अस्पताललाई विघटन गर्ने सरकारले कुनै निर्णय गरेको छैन । कांग्रेसका साथीहरुलाई वनको बाघले होइन मनको बाघले आए जस्तो छ । यस्तो मनगढन्ते कुरा कहाँबाट आयो थाहा छैन ।’
तनहुँमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्वास प्रस्वास अस्पताल र बाँकेमा निर्माण हुन लागेको सुशील कोइराला क्यान्सर अस्पताललाई स्वास्थ्य मन्त्रालयले खारेजीको प्रक्रियामा लगेको दाबी गर्दै कांग्रेसले आपत्ति जनाएको थियो ।