काठमाडौं– केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार नेपालमा बाल यौन दुराचार सम्बन्धी घटनाहरू बाहिरिने क्रम बढ्दो अवस्थामा छ।पछिल्ला तीन वर्षमा १० जना व्यक्ति पक्राउ परेका छन् जसमध्ये नौ जना विदेशी छन्।
अमेरिका, जर्मनी, अस्ट्रिया, नेदरल्याण्ड्स, क्यानडा र फ्रान्स जस्ता मुलुकका नागरिकले हालका दिनमा काठमाण्डूको सुन्धारा र नख्खुस्थित कारागारमा सजाय भोगिरहेका छन्।
नौ विदेशीमध्ये छ जना ६० वर्ष भन्दा बढी उमेर समूहका छन्।केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता उमाप्रसाद चतुरवेदीका अनुसार पछिल्ला तीन वर्षमा १० वटा घटना सार्वजनिक भएता पनि नेपालमा बाल यौन दुराचारका घटना उक्त आँकडाभन्दा कम्तीमा तीन गुणा बढी रहेको हुन सक्छ।
विभिन्न कारणवस घटनाहरू बाहिर आउन नसकेको र स्रोत साधनको अभावका कारण अनुसन्धान पनि आवश्यकता अनुरूप हुन नसकेको उनले स्वीकार गरे।
”सामाजिक प्रतिष्ठासँग जोडिने हुँदा धेरै जना यस्ता घटनालाई गुपचुप राख्न चाहने गरेको पाइन्छ,” चतुरवेदीले बीबीसी नेपाली सेवासँग भने। ”कतिपय सामाजिक संस्थाहरूले आफ्नो संस्थामा आउने सहायता रोकिएला भन्ने डरका कारण समेत त्यस्ता घटना दबाउने गरेको पाइन्छ।”पुस अन्तिम साता बाल यौन दुराचार आरोपमा क्यानेडियन प्रहरीले क्यानेडियन नागरिकलाई नेपालको एक बाल आश्रममा रहेका पाँच नेपाली बालकमाथि यौन शोषण गरेको आरोपमा पक्राउ गरेपछि यो विषय फेरि एक पटक चर्चामा छ।