सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

पाठ्यपुस्तक समयमा किन पुग्दैन ?

डोल्पा –  शैक्षिक सत्र सुरु हुन लाग्दासमेत खरिद प्रक्रिया अघि नबढेपछि डोल्पाका बालबालिकाले समयमै पाठ्यपुस्तक नपाउने भएका छन्। पाठ्यपुस्तक खरिद गर्ने विषयमा कुनै पहल नभएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सिंहराज डाँगीले जानकारी दिए।

उनले नगरपालिका तथा गाउँपालिकास्तरीय पाठ्यपुस्तक व्यवस्थापन स्थानीय तहको प्रमुखको संयोजकत्वमा रहेको र शिक्षा विभागले बजेट पनि उतै निकासा दिएकाले स्थानीय तहले नै समयमा पाठ्यपुस्तक खरिद प्रक्रिया अघि बढाउनुपर्ने बताए अघिल्ला वर्षहरूमा जिल्ला शिक्षा कार्यालयले पुसमै प्रक्रिया अघि बढाउँदा फागुनसम्म पाठ्यपुस्तक जिल्लामा आइपुग्ने गरेको थियो। डाँगीले सबै स्थानीय तहसँग समन्वय गरेर तत्काल पाठ्यपुस्तक खरिदका लागि पहल थालिने बताए।

डोल्पा जिल्लाका प्राविदेखि माविसम्मका एक सय १५ वटा विद्यालयका विद्यार्थीका लागि १२ हजार चार सय ३५ थान पाठ्यपुस्तक यस शैक्षिक सत्रमा आवश्यक रहेको शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाले जनाएको छ। यस शैक्षिक सत्रमा बालविकास केन्द्रदेखि कक्षा ८ सम्म १० हजार ३ सय ४० थान, र कक्षा ९ देखि १२ सम्म २०९५ थान पाठ्यपुस्तक आवश्यक रहेको शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाको तथ्यांक छ।

कक्षा १ देखि १० कक्षासम्मका बालबालिकाका लागि चाहिने किताब माघ अन्तिमसम्म विद्यालयमा नपुगेको अवस्थामा बालबालिकाको पढाइ प्रभावित हुने सरस्वती माविका प्रधानाध्यापक सत्यनारायण सिंहले बताए।

जनक शिक्षा सामग्रीसँग कुन प्रक्रियाबाट समयमा पाठ्यपुस्तक खरिद गर्ने विषयमा स्थानीय सरकार अन्योलमा परेको छ। ‘अघिल्ला वर्षहरूमा जिल्ला शिक्षाले नै बिक्रेतालाई बोलाएर खरिद प्रक्रिया अगाडि बढाउँथ्यो, यस वर्ष हामीले केही प्रक्रिया अघि बढाइसकेका छौं’, जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायाले भने, ‘पहिलो पटक खरिदमा जाँदा अन्योल भएको हो। तर, समयमै पाठ्यपुस्तक बालबालिकाको हातमा पुग्छ।’

मुड्केचुला गाउँपालिकाले पनि पाठ्यपुस्तक खरिदका लागि स्थानीय बिक्रेतालाई प्रक्रिया अघि बढाएको जनाएको छ। स्थानीय तहमा आधिकारिक कागजात बुझाइसकेको र केही दिनमा जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय नेपालगन्जमा जाने मुड्के चुलाका स्थानीय बिक्रेता लंक रोकायाले बताए। अन्य कुनै पनि स्थानीय तहले पाठ्यपुस्तक खरिदका लागि पहल गरेका छैनन्।अन्नपुर्ण पोस्टमा समाचार छ l

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय