प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक पोशाकको जंगी ‘क्याप’ भारतको राजधानी दिल्लीमै छुटेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हंगामा भएको छ।
भारतको औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता हुने क्रममा प्रधानसेनापति थापाको औपचारिक पोशाकको ‘ट्युनिक पोशाकको ‘फरेज क्याप’ दिल्लीमै छुटेपछि उनको स्वागत कार्यक्रम नै प्रभावित बनेको हो । फरेज क्याप छुटेपछि प्रधानसेनापति थापाले विमानस्थलको स्वागत सलामी समारोहमा कार्यालय पोशाकमा देखिए । उनी कार्यालय पोशाक तथा त्यसमा लगाउँने ‘बेरेट क्याप’मा उपस्थित भएका हुन् । सैनिक मूख्यालयमा आयोजित स्वागतमा भने उनी ट्युनिक पोशाकमै उपस्थित भएका थिए ।
सेनापतिको क्याप छुटेको तस्बीर सैनिक जनसम्पर्क निर्देशनालयले पठाएको तस्बीरमै स्पष्ट देख्न सकिन्छ । निर्देशनालयले पठाएको तस्बीर अनुसार प्रधानसेनापति थापाले कार्यालय पोशाक ‘चुस्ता’मा देखिएका छन् । जबकी यस्तो अवस्थामा औपचारिक पोशाक ट्युनिकमा उपस्थित हुनुपर्ने हो ।
सेनापति थापाको स्वागत गर्न पुगेका वलाधिकृत रथी हेमन्तराज कुँबर भने औपचारिक पोशाक ‘ट्युनिक’मै देखिएका छन् । ट्युनिक पोशाकको क्याप छुटेको विषयमा सँगै रहेका अंगरक्षकसँग स्पष्टिकरण लिइने सैनिक स्रोतले बतायो ।
प्रधानसेनापति थापा भारतीय स्थल सेनाध्यक्षको ‘मानार्थ महारथी’ सम्मान लिन पुस २७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।कारोबार दैनिकमा खबर छ