सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

अब बिजुलीको तार भूमिगत व्यवस्थापन गर्दै विद्युत्  प्राधिकरण

नेपाल विद्युत्  प्राधिकरणले राजधानीका बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणाली स्वचालित गर्ने काम अघि बढाएको छ ।

प्राधिकरणले यसका लागि ठेकेदार छनोट गरेको छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युत्को तार भूमिगत गर्न सबैभन्दा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेड छनोट भएको हो ।

प्राधिकरणले गत ६ फागुनमा बोलपत्रको नतिजा सार्वजनिक गर्दै छनोट भएको कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरीद सम्झौताका लागि आउन पत्राचार गरेको छ । कम्पनीले सूचना जारी भएको २८ दिनभित्र कार्यसम्पादन जमान सहित ठेक्का सम्झौताका लागि आउनु पर्नेछ ।

उक्त कम्पनीसँग महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको काम गर्न २ करोड ५५ लाख ८१ अमेरिकी डलर र १ अर्ब १ करोड ७० लाख रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता हुने छ । कम्पनीले रत्नपार्क वितरण केन्द्र अन्तर्गतको काम २ करोड २९ लाख डलर र ८३ करोड १५ लाख रुपैयाँमा (करबाहेक) गर्ने छ ।

प्राधिकरणको मध्य तथा उत्तर काठमाडौं (महाराजगंज)का आयोजना प्रमुख अभिषेक अधिकारीले कम्पनीले कार्यसम्पादन जमानत ल्याएपछि ठेक्का सम्झौता हुने बताए । उनले आगामी जेठबाट काम सुरु गर्ने र त्यसको ३० महिनाभित्र काम हुने बताए । प्राधिकरणले यस अघि अनुमानित लागतभन्दा महंगो दर आएपछि पुरानो टेण्डर प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया सुरु गरेको थियो ।

पहिलो चरणमा काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने वागबजार, असन, दरबारमार्ग लगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा बालुवाटार, गोंगबु, सामाखुशी लगायतका महाराजगंज वितरण केन्द्र अन्तर्गत पर्ने क्षेत्रमा पर्ने विद्युत् वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको हो ।

ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, सामान आपूर्ति, जडान र सञ्चालन गर्ने छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भुमिगत र अटोमेसन गरिने छ ।

तार भूमिगत गरिएसँगै दुई वितरण केन्द्र अन्तर्गतका करिव ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान गरिने छ । वितरण प्रणालीलाई भूमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छ्याउने र बिजुली वितरणको तथ्यांक राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक (स्र्माट मिटर) जडान गरिने योजना छ ।

दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना प्राधिकरणको छ । सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइने छ । यो प्रविधि अपनाउँदा केही मिटरको दूरीमा दुई खाल्डा खनेर बिचमा भूमिगत तरिकाले नै पाइप हाल्न सकिन्छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय