ललितपुरकाे नख्खुमा रहेको निजी टेलिकम कम्पनी एनसेल कार्यालयको प्रवेशद्वारमा बम विष्फोट भएको छ ।
एनसेल टावरमा शुक्रबारसाँझ ७ः५५ बजे अज्ञात समूहले बम विष्फोट गराएको हो ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार, विष्फोटमा तीनजना पैदलयात्री घाइते भएका छन् । घाइते प्रतिक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको
छ ।
बम ठूलो आवाजले पड्किएको ललितपुरका स्थानीयवासी प्रकाश सोतीले बताउनुभयो । अहिले प्रहरी परिसर, पाटनबाट खटिएको टोलीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ । यसैबीच नक्सालमा पनि शंकास्पद बस्तु भेटिएको छ । प्रहरी प्रवक्ता सुवेदीका अनुसार बस्तुबारे अनुसन्धान भइरहेको छ ।
यसअघि बिहीबार राति बागलुङका विभिन्न ठाउँमा रहेका एनसेलका टावरमा अज्ञात समूहले आगजनी गरेका थिए ।
टावरमा कसले के प्रयोजनका लागि आगजनी गरेको भन्ने विषयमा समेत कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताए ।