काठमाडौं – काठमाडौं महानगर र आसपासका नगरपालिकामा १८ वटा नयाँ पार्क थपिने भएका छन् भएका हुन् । काठमाडौं महानगरले आफैँले नौवटा र छिमेकी नगरपालिकाले नौवटा पार्क बनाउने भएका छन् । महानगरले आइतबार नौवटा नगरपालिकालाई एक÷एक करोड रुपैयाँका दरले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । महानगरले कीर्तिपुर, शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बुढानीलकण्ठ, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकासँग सम्झौता गरेको हो । टोखा नगरपालिकाले भने गत २० असारमै पार्क बनाउन आर्थिक सहयोगको रकम लगिसकेको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको एकीकृत विकासका लागि नगरपालिकाबीच एउटै मत भएको बताए । ‘महानगरभित्र गर्नुपर्ने काम धेरै छन् । ती काम गरिरहेका पनि छौँ । तर, छिमेकी नगर समृद्ध नभई महानगर एक्लै समृद्ध हुन सक्दैन,’ आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘त्यसैले हामी नगर—नगर साझेदारिताबाट अघि बढेका हौँ ।’
कीर्तिपुर नगरपालिकाले १, २ र १० नम्बर वडालाई समेट्ने गरी ‘युद्ध स्मारक पार्क’ निर्माण गर्ने योजना पेस गरेको छ । यो पार्क ५५ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । महानगरबाट प्राप्त सहयोगबाट शंखरापुर नगरपालिकाले वडा नम्बर ९ बज्रयोगिनी मन्दिर क्षेत्रमा ‘हरित उद्यान’ निर्माण गर्ने भएको छ । कागेश्वरी नगरपालिका–१ मा रहेको प्रसिद्ध कागेश्वरी मन्दिर र त्यसवरिपरिको क्षेत्रमा ५५ रोपनी क्षेत्रफलमा ‘प्रसिद्ध कागेश्वरी धाम’ निर्माण हुने भएको छ ।
गोकर्णेश्वर नगरपालिका–९ जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति पार्क क्षेत्रभित्र ‘गोकर्णेश्वर पार्क’ निर्माण गरिनेछ । बुढानीलकण्ठ नगरपालिका–८ हात्तीगौँडामा ‘बुढानीलकण्ठ पार्क’ निर्माण गर्ने नगरको योजना छ । तारकेश्वर नगरपालिका–३ धाम क्षेत्रमा ‘तारकेश्वर धाम’ करिब १० रोपनी सार्वजनिक जग्गामा निर्माण हुनेछ । नागार्जुन नगरपालिका–६ डाँडापौवामा ‘गणेशमान स्मृति पार्क’ निर्माण गर्ने प्रस्ताव महानगरमा पेस भएको छ । चन्द्रागिरि नगरपालिका–१३ स्थित कंकाली मन्दिर क्षेत्रमा पर्या–पर्यटन एवंं ऐतिहासिक सांस्कृतिक पर्यटन क्षेत्र तयार पार्नेछ । नया पत्रिकामा समाचार छ l