काठमाडौं– प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले कृषि मन्त्रालय खारेज गर्नुपर्ने माग राखेका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्दै सरकारले किसानको हकहितमा काम नगरेकाले मन्त्रालय नै खारेज गर्नुपर्ने धारणा राखेका हुन् ।
किसानको विषयमा धेरै आवाज उठाउँदा बोल्नै लाज भएको बताउँदै उनले भने ‘कुनै पनि सरकारले किसानको हितमा काम गरेन । किसान होइन विचौलिया मालामाल भए, सरकार विचौलियाकै पक्षमा छ ।’उखु र चिनीको मूल्य निर्धारणमा मन्त्रालय व्यापारी र विचौलियाको पक्ष लिएको उनको आरोप छ । सरकारी सर्कुलरका कारण ७० प्रतिशत किसानले अनुदान नपाएको उनले बताए । कृषि मन्त्रालयको जटिल सर्कुलरको कारण अहिलेसम्म ३० प्रतिशत किसानले मात्रै अनुदान रकम पाएका छन्, उनले भने ‘गत वर्षको अनुदान रकम थन्काएर राखिएको छ ।’
सरकारको कार्यशैलीमाथि आक्षेप लगाउँदै उनले आगामी जेठ असारमा चिनी अभाव हुने र विचौलिया सक्रिय हुने ठोकुवा गरे । ‘चिनी मिल ढिला चलेको छ, लेखेर राखियोस, म संसदमा पूरै होसका साथ भन्दैछु आउँदो जेठ असारसम्म देशमा चिनी संकट हुनेछ । उनले भने चिनी आयातका लागि फेरि यसअघि जस्तै विचौलियाको चलखेल हुनेछ ।
कृषिका नाममा छुट्याइएको रकम पनि किसानका लागि १८ प्रतिशत मात्रै र बाँकी बजेट किसानका नाममा तामझाम गरी खर्च गर्ने गरेको त्रिपाठीले आरोप लगाए ।