एजेन्सी -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँगको दोस्रो भेटवार्ता यहि महिना हुने औपचारिक घोषणा गरेका छन् ।वार्षिक स्टेट अफ द युनियन सम्बोधनको क्रममा ट्रम्पले यहि महिना (फेब्रुअरी) मै किम र आफ्नो भेटवार्ता हुने घोषणा गरेका हुन् । ट्रम्पले यो पटकको भेट भियतनाममा हुने बताएका छन् ।
भियतनाममा फेब्रुअरी २७ र २८ मा आफूहरुबिच वार्ता हुने तय भएको ट्रम्पले जानकारी दिएका हुन्। गएको वर्षको जुनमा किम र ट्रम्पबिच पहिलोपटक ऐतिहासिक भेटवार्ता भएको थियो । त्यसयता नै दोस्रो भेटको तयारी थालिएको थियो । सिंगापुरमा भएको पहिलो वार्तामा उत्तर कोरिया परमाणु निशस्त्रीकरणका लागि सहमत भएको थियो ।
ट्रम्पले सम्बोधनको क्रममा भनेका छन्, ‘उत्तर कोरियामा बन्धक बनाइएका हाम्रा नागरिकहरु घर फर्किएका छन् । परमाणु परीक्षण रोकिएको छ । पछिल्लो १५ महिनायता मिसाइल परीक्षण भएका छैनन् ।’उनले अघि भने, ‘यदी म राष्ट्रपतिमा निर्वाचित नभएको भए, मलाई लाग्छ कि हामी अहिले उत्तर कोरियासँग युद्धको अवस्थामा हुने थियौँ ।’
ट्रम्पले थपे, ‘अझै धेरै काम गर्न बाँकी छ । तर किम जोङ–उनसँग मेरो सम्बन्ध राम्रो छ ।’