एजेन्सी- दक्षिण कोरियाली भूमिमा कार्यरत अमेरिकी सेनाको व्यवस्थापनका लागि बजेट बढाउन सहमत भएको सोलले आइतबार जानकारी गराएको छ। लामो समयदेखि सहयोगीका रूपमा रहेको अमेरिकी सेनाको खर्चका लागि वासिङ्टनको अनुरोधमा उक्त निर्णय लिएको हो। दक्षिण कोरियाले सेनाको खर्चबारे अमेरिकासँगको विवादलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ–उनबीच दोस्रो वार्ता हुने मिति तय भएको केही घण्टाभित्रै अन्तिमरूप दिएको हो। सन् १९५० देखि सन् १९५३ सम्म चलेको कोरियाली युद्धका समयदेखि नै अमेरिका र दक्षिण कोरियाबीच सुरक्षा गठबन्धन रहँदै आएको छ। कोरियाली प्रायदीपमा भएको तनाव कम गर्न युद्धविराम गरिएपनि शान्तिवार्ता हुन सकेको छैन।
वासिङटन र सोलका प्रतिनिधिबीचको सहमति अनुसार अघिल्लो पाँच बर्षका लागि गरिएको सम्झौताभन्दा ८.२ प्रतिशत बढी रकम दिइने छ। दक्षिण कोरियाली विदेश मन्त्रालयले सन् २०१९ मा अमेरिकी सेनाको व्यवस्थापनका लागि ९२ करोड ४० लाख अमेरिकी डलर बुझाउने सहमति भएको बताएको छ। मन्त्रालयका अनुसार अमेरिकाले कोरियाली भूमिमा रहेको उसको सेना व्यवस्थापनका लागि ठूलो मात्रामा बजेट वृद्धिका लागि माग गरेको भएपनि दुई मुलुकबीच उक्त रकम भूक्तानीको सहमति भएको हो। सहमतिपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘दुबै मुलुकले दक्षिण कोरिया–अमेरिकाबीचको मजबुत सहकार्य रहिरहनुपर्नेमा पुनः जोड दिएका छन् ।’ खर्चको विवादले अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी फौज फिर्ता गर्नसक्ने चासो विश्लेषकहरूले देखाएका थिए। यसै महिनाको अन्त्यमा राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भियतनामको हनोइमा हुने दोस्रो शिखर वार्तामा उहाँहरूबीच दशकौँ लामो युद्धविरामलाई अन्त्य गर्दै स्थायी शान्तिको प्रस्तावनाको घोषणा गर्नसक्ने अनुमानहरू गरिएका छन्।