सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

निद्रा लाग्ने कारण र आवश्यकता

काठमाडौं -निदाउनु भनेको मस्तिष्क र शरीरलाई आराम गराउन आँखा चिम्लिएको र   पूर्णरूपले चेतनाविहीन अवस्था हो । निद्रा प्रत्येक मानिस, पशुपक्षी र जीवित प्राणीका लागि अति आवश्यक छ । सबै प्राणीहरू आआफ्नो प्राकृतिक समय र जैविक प्रक्रिया अनुरूप निदाउने गर्छन् । सुताइ र निदाइ भन्नु फरक कुरा हुन् । कोही व्यक्ति मस्त सुत्छ तर मस्त निदाउन सक्दैन भने त्यो राम्रो सुताइ होइन । मानिसले सपना देखेको बखतको सुताइलाई पनि राम्रो निदाइने होइन भन्ने कुरामा वैज्ञानिकहरू पनि सहमत छन् । किनकि सपना देखिरहँदा पनि मस्तिष्क सक्रिय भइरहन्छ ।

विकिपिडियामा उल्लेख भएअनुसार सपना देखिने सुताइमा आँखा तीव्रतर तरिकाले चलिरहेको हुन्छ र मस्तिष्क सक्रिय हुन्छ । यो अवस्था निदाएको करिब ९० मिनेटपछि सुरु हुन्छ । तर मस्तिष्कलाई आराम गराउन सुत्नुपर्छ भन्दैमा दिउँसोमा सुत्नु, जतिबेला पनि सुत्ने मन गर्नु, अल्छी गरेर सुतिरहनु, अलि बढी नै सुत्नु आदि स्वस्थकर सुताइ होइनन् । यसरी अनावश्यक रूपमा बढी सुत्नु पनि शारीरिक वा मानसिक समस्या हुनसक्छन् । खासगरी बढी निदाउनुमा रक्तचाप न्यून हुनु, ज्यादै गर्मी हुनु, कमजोर वा शक्तिहीन हुनु, मोटोपन बढ्नु जस्ता आदि कारणहरूले गर्दा हो । यस्तो भएमा विभिन्न प्राणायाम गर्ने, शरीर मालिस गर्ने, टिमुर चुस्ने आदि गर्न सकिन्छ । यसर्थ निद्रा लाग्नु मस्तिष्कको आराम र विश्रामका लागि हो । मस्त र गहिरो निद्रा परेको बेला आँखा बढी मात्रामा चलेको हुँदैन र यस्तो अवस्थामा शरीरका ग्रन्थीले वृद्धि हर्मोन र दूध उत्पादन गर्ने हर्मोन उत्पादन गर्दछन् । त्यसकारण मस्त निद्रा सुत्ने बच्चाको शारीरिक वृद्धि विकास समेत राम्रो हुन्छ ।

हामी बिहान उठेदेखि विभिन्न काम गर्छौं, धेरै कुराहरू सोच्छौं, मस्तिष्कको निकै परिचालन गर्छौं र शारीरिक रूपमा समेत थाकेको महसुस् गर्छौं तर हामीलाई परिचालन गराउने मस्तिष्क पनि थाक्छ भन्ने कुरामा हामी अनभिज्ञ हुन्छौँ । फलस्वरूप आरामपूर्वक निदाई मस्तिष्कलाई थकानबाट मुक्त राख्न हामी सक्दैनौँ । अनावश्यक अनिदो बसिदिने, राति अबेलासम्म गफगाफ गर्दै वा मोबाइलमा रमाउने, रातभर धर्मकर्मका नाममा जाग्राम बस्ने, नानाथरी कुराहरू मनमा खेलाएर निद्राबाट वञ्चित हुने, सुत्नेबेलामा चिया कफी वा मादक पदार्थ खाने आदि क्रियाकलाप गरिदिन्छौँ । त्यसपछि पूर्णरूपमा निद्रा खलबल हुन्छ, निद्रा पर्दैन वा मीठो निद्राबाट हामी वञ्चित हुन्छौं । यस्तो बेलामा मस्तिष्कले अब आराम पाउँदैन र हामीलाई अर्को दिन राम्रोसँग कार्यसम्पादन गर्नमा गाह्रो पर्छ अनि बिरामी पर्न पनि सकिन्छ । यसबाट के बुझ्नुपर्छ भने निद्रा मस्तिष्कको आरामको लागि अपरिहार्य छ र निद्रा लाग्ने कारण शारीरिक क्रियाकलापपछि शरीर थाकेजस्तै मानसिक क्रियाकलाप र विभिन्न गतिविधि पछि मस्तिष्क पनि थाक्ने भएको कारण मस्तिष्कलाई पुनः सक्रिय बनाउन, मस्तिष्कको ब्याट्री चार्ज गर्न वा ऊर्जा प्रदान गर्नुपर्ने भएकाले जैविक घडीअनुसार निदाउनुपर्ने आवश्यकता भएको हो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय