सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

पेचिलो बन्दै; प्रदेश ५ मा प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय

बुटवल– प्रदेश ५ मा प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय पेचिलो बन्दै गएको छ।

प्रदेश सभा गठन भएको एक वर्ष हुँदा पनि प्रदेश सभाले स्थायी राजधानी र नामाकरण गर्न नसकेपछि सत्तापक्ष र प्रतिपक्षबीच द्वन्द्व बढेको छ।राजधानी र नामाकरण सिफारिसका लागि बनेको विशेष समितिले ६ महिनासम्म पनि देखिनेगरी कुनै काम गर्न सकेको छैन।

विशेष समितिमा ३ जिल्ला बाँके, रुकुम पूर्व र नवलपरासी पश्चिमका प्रतिनिधि नसमेटिएको भन्दै सत्तापक्षका सांसद्हरुले सदनमा आवाज उठाउन थालेपछि प्रतिपक्षी दल त्यसको विरोधमा उत्रिएको छ।प्रतिपक्षी दल कांग्रेसले मंगलबार सदन अवरोध गर्दै राजधानी सिफारिस समितिमा सदस्य थप नगरी काम अघि बढाउनुपर्ने तर्क राख्दै आएको छ।कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेल भन्छन्–राजधानी र नामाकरण सिफारिश गर्न बनेको समितिले आफ्नो काम गर्ने हो कि, समितिमा यो जिल्लाका पुगेनन् भनेर बखेडा झिक्ने हो ?’

उनले अरु धेरै संसदीय समितिमा पनि सबै जिल्लाको प्रतिनिधित्व नभएको भन्दै तर्क गरे–‘प्रदेश सभामा आएपछि सबै प्रदेश सांसद्हरुले यो प्रदेशकै प्रतिनिधित्व गर्छन्, कुन समितिमा कुन जिल्ला समावेश भएन भनेर निहुँ खोजेर काम नै अघि नबढाउने किन ? यहाँ त सत्तापक्षले सकेसम्म समय लम्बाउने र राजधानी सिफारिश गर्न ढिलार्ई गर्ने काम गरेको छ, समितिलाई स्वतन्त्र ढंगले काम गर्न दिएकै छैन।’

प्रदेशको अस्थायी राजधानी तय गर्नुको जस कांग्रेसले लिन चाहन्छ। त्यसकै आधारमा प्रदेशको स्थायी राजधानी पनि बुटवल बनाउनुपर्ने उसको तर्क छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय