वुटवल– सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्र ‘मृत्युमार्ग’का रुपमा परिचित छ। यो खण्डमा एक सयभन्दा बढी पहिरोमा परेर १० वर्षमा ७० जना भन्दा बढीले ज्यान गुमाएका छन्।यो सडक खण्डको रुपन्देही बुटवलको चिडियाखोलादेखि पाल्पा तिनाउको दोभानसम्मको ३ किलोमिटर सडकमा जुनसुकै बेला पनि पहिरो खसिरहन्छ। यहाँ अहिले पहिरोमात्रै नभई भीरबाट ठूल्ठूला ढुङ्गा खसेर सवारी साधन र मानिसलाई च्याप्छन्।
सरकारी तथ्यांकअनुसार पछिल्लो १० वर्षमा १८ वटा बस, ७ वटा ट्रक, ९ वटा जीप र कार तथा १९ वटा मोटरसाईकल पहिरोले च्यापेको छ। एकसय भन्दा बढी पहिरोमा परी ७० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । यो डरलाग्दो सडक खण्डमा सुरुङमार्ग बनाउनका लागि अध्ययन थालिएको छ।
बुटवलको सिद्धबाबा मन्दिरदेखि माथिल्लो सिद्धबाबा मन्दिर र त्यसमाथिको करीब ४ किलोमिटर सडक क्षेत्र अति जोखिमयुक्त भएकाले सुरुङमार्ग बनाउने सरकारको योजना छ।
नेपाल सरकारको अनुरोधमा स्वीट्जरल्याण्ड सरकारको सहयोगमा भइरहेको भौगर्भिक सर्वेक्षणले चिडियाखोलादेखि दोभानसम्मको २ हजार ३ सय मिटर क्षेत्रमा सुरुङ बनाउन उपयुक्त हुन्छ कि हुँदैन भन्ने रिर्पोट दिने छ।१७ जना प्राविधिकको टोलीले गरिरहेको भौगर्भिक सर्वेको प्रतिवेदन शुरुमा स्वीस सरकारलाई बुझाउने र स्वीस सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ।साभार : देश संचार