सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

मेयर र वडाध्यक्ष नै विद्युत् चोरीमा संलग्न

रौतहट-    रौतहटको गढीमाई नगरपालिकाका मेयर र वडाध्यक्ष नै विद्युत् चोरीमा संलग्न रहेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले  मेयर श्यामप्रसाद यादव (ग्राहक नं ००८.१३.०१), वडा नम्बर ६ का अध्यक्ष रामसिंघासन यादव (ग्राहक नं ०७.२०.०३ ए) र गरुडा नगरपालिका–१ का वडाध्यक्ष सरोज राय यादव (ग्राहक नं १८.०८.१९)ले आफ्नो घरमा विद्युत् चोरी गरी प्रयोग गरेको फेला पारेको हो ।

गौर क्षेत्रमा विद्युत् चोरी अत्यधिक रहेको गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महाशाखाका इन्जिनियर प्रदीपकुमार शर्माको नेतृत्वमा छड्के जाँच टोली खटाएका थिए । जनताबाट निर्वाचित मेयर र वडाध्यक्ष नै विद्युत् चोरीमा संलग्न हुनु दुर्भाग्यपूर्ण रहेको घिसिङले बताए ।टोलीले १४ माघदेखि २० सम्म रौतहटमा गरेको छड्के जाँचका क्रममा गढीमाई नगरपालिकाको  बिनगरमा रहेको दुईवटा घरमा मेयर यादवले हुकिङ गरी विद्युत् प्रयोग गरिरहेको फेला पारेको हो । टोली प्रमुख शर्माले हुकिङ गरेर प्रयोग गरिएको लाइन काटिएको तर सुरक्षाका कारण मेयरको घरमा राखिएको मिटर खोल्न नसकिएको बताए ।

टोलीले गढीमाई नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष रामसिंघासन यादवले आफ्नो घरमा, वडा कार्यालयमा र धरमपुर स्वास्थ्य चौकीमा चोरीको विद्यत् प्रयोग गरिरहेको फेला पारेको छ । ‘वडाध्यक्षको घरमा धेरै विद्युत् खपत गर्ने सामग्री प्रयोगमा रहेछन्, मिटरको सर्भिस केबल खोली राखेको तर हुकिङमार्फत घरमा बत्ती प्रयोग गरिएको रहेछ,’ शर्माले भने, ‘त्यस क्षेत्रमा चोरी अध्यधिक रहेकाले  विद्युत् आपूर्ति गर्ने टान्सफर्मरबाट लाइन काटेर आएका छौँ ।’गरुडा नगरपालिका १ का अध्यक्ष सरोज राय यादवले मिटर बाइपास गरी घरमा बिजुली प्रयोग गरेका थिए । टोलीका अनुसार, वडाध्यक्षले आफ्नो घरमा मात्रै नभई दाजुभाइको घरमासमेत चोरीको विद्युत् दिएका थिए । साभार :नया पत्रिका

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय