सिर्जनामा सत्तालाई आत्थु–आत्थु पार्ने शक्ति हुन्छ वा त्यो ताप हुन्छ भन्ने कुराको पछिल्लो उदाहरण पशुपति शर्माको लोक गीत ‘लुट्न सके लुट कान्छा’ बनेको छ ।
‘भ्रष्टाचारमा शून्य सहनशीलता’ भन्ने नारा अहिलेको सरकारले मात्रै होइन यसअघिका सरकारले पनि रट्दै आएका थिए । तर भ्रष्टाचार रोकिने होइन, भ्रष्टाचारविरुद्ध काम गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत चोखो रहन सकेन ।
राज्य कोषको दुरुपयोग, आफ्नो हितका लागि राज्य कोष खर्च गर्ने तथा तस्करी एवम् घुसकाण्डहरु बिस्तार हुँदै गए । यहि परिवेशलाई चित्रित गरेर पशुपति शर्माले व्यंग्यात्मक शैलीमा सिर्जना गरेको गीत थियो, ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाईँदैन नेपालमै हो छुट’ ।
तर लुट र छुटको गाथाको रुपमा दर्शक–स्रोताले मन पराएको गीत सरकारका लागि भने गम्भीर आपत्ति र आफ्नो वास्तविकताको चित्रण बन्यो सायद । यहि कारण सरकारले पशुपति शर्माको गीतमाथि प्रतिबन्ध लगायो । गायक–सर्जक शर्मा युट्युबबाट गीत हटाउन बाध्य भए ।
भन्न त उनले परिमार्जन गरिएको गीत चाँडै ल्याउने भनेका छन् । तर अब आउँदा यो गीतमा व्यंग्य गर्न खोजिएका विषयहरु सायद ओझेलमा पर्ने छन् ।
तर सरकार एउटै गीतबाट आत्तालिएको जस्तो देखिएको विश्लेषण भने भएका छन् । सत्तामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा यो गीतबारे प्रधानमन्त्री निवास बालुवाटारमै छलफल भएको र हटाउन दबाब दिइएको बताइन्छ ।साभार : देश संचार