सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

वाइडबडी प्रकरणमा जोडिएका सबैमाथि अनुसन्धान शुरु

नेपाल वायु सेवा निगमको एयरबस ३३० वाइडबडी विमान खरीद प्रकरणमा जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याइने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेले बताएका छन् ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा आइतवार सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै घिमिरेले उक्त प्रकरणमा विस्तृत छानबिन भइरहेको जानकारी दिए । खरीद प्रक्रियाका प्रमाणहरू संकलन तथा त्यसमा जोडिएका व्यक्तिहरूसँग बयान लिन शुरू गरिसकेको उनले बताए । ‘अख्तियारले आफ्नो अधिकार क्षेत्रअन्तर्गत रहेर यस विषयमा अनुसन्धान गर्नेछ,’ घिमिरेले भने ।

उक्त प्रकरणबारे संसद्को सार्वजनिक लेखा समिति अन्तर्गत गठित उपसमितिले पुस १८ मा दुई पूर्वपर्यटनमन्त्री, बहालवाला मन्त्री, सचिव र निगमका महाप्रबन्धक सहित ३४ जनालाई दोषी ठहर गर्दै प्रतिवेदन सार्वजनिक गरेको थियो । उपसमितिले वाइडबडी प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।

यस प्रकरणमा छानबिन गर्न सरकारले पुस ३० मा गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको समय भने नियुक्त पदाधिकारीहरूलाई त्यससम्बन्धी पत्रसमेत नदिई सकिएको छ ।

अख्तियारले आफ्ना पूर्वआयुक्त राजनारायण पाठकमाथि पनि छानबिन शुरू गरेको घिमिरेले जानकारी दिए । उनका अनुसार सहसचिवको नेतृत्वमा पाठकमाथि अनुसन्धान शुरू भएको छ । ‘कानूनी रूपमा संवैधानिक आयोगका पदाधिकारीमाथि अनुसन्धान गर्न सक्ने स्पष्ट व्यवस्था छैन, तर महान्यायाधिवक्तासँग छलफल गरेर यस विषयमा अनुसन्धान अघि बढाएका छौं,’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रण र सुशासन आयोगको एक मात्र एजेन्डा हो । त्यसैले अख्तियारमा रहेको वा बाहिरको कुनै पनि व्यक्तिले भ्रष्टाचारबाट उन्मुक्ति पाउन हुँदैन ।’

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय