काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको एकवर्ष पूरा भएको छ । २०७४ साल फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री बनेका ओलीले एक वर्षमा आफ्नो सरकारले समृद्धिका लागि आधार तयार गरेको दाबी गरेका छन् । एक वर्ष बित्दानबित्दै काठमाडौंमा पानीजहाज कार्यालय उद्घाटन गरेका उनले ‘पुल उचालेर भएपनि पानीजहाज चलाउने’ अभिव्यक्ति दिए । तर, समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएको ओली सरकारलाई आलोचकहरुले भने ‘कुरा धेरै, काम थोरै’ गरेको आरोप लगाउने गरेका छन् ।
ओली स्वयंले निकै तामझामका साथ उद्घाटन गरेका सामाजिक सुरक्षा कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम र जनताको जलविद्युत कार्यक्रमलाई निकै महत्वाकांक्षी योजनाका रुपमा सरकारले लिएको छ । तर, सामाजिक सुरक्षा कार्यक्रमको तीन महिनाको कार्यप्रगति हेर्दा यी कार्यक्रम पनि कुरामै सिमित हुने सम्भावना धेरै देखिन्छ । उता, ओली सरकारको एक वर्षे कार्यकालमा भ्रष्टाचार, दण्डहिनता, अपराधलगायतका बेथिती निकै बढेको तथ्यहरुले बताउँछन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचार निमिट्यान्न पार्ने र भ्रष्टाचारीलाई नसहने अभिव्यक्ति दोहो¥याइरहँदा उनकै शासनकालमा भ्रष्टाचार झन् संस्थागत हुँदै गएको आलोचकहरुको टिप्पणी छ ।
१. ३३ किलो सुनकाण्ड
मोरङको उर्लाबारीमा सनम शाक्यको हत्या भएपछि ३३ किलो सुनकाण्ड सार्वजनिक भयो । यो सालको सुरुमै सार्वजनिक भएको यो सुनकाण्ड अझैसम्म नसुल्झिएको पहेली भएर रहेको छ । वैदेशिक रोजगारी र अन्य प्रयोजनले विदेश गएर फर्कनेहरुको झोला खोतलेर हेरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यति ठूलो परिमाणमा तस्करीको सुन भने सजिलै भित्रिँदोरहेछ भन्ने तथ्य पनि यो घटनाले उजागर गरिदियो ।
सुन तस्करीका एक नाइके मानिएका चुडामणी उप्रेती उर्फ गोरेले अदालत समक्ष आत्मसमर्पण गरे । यिनै गोरेलाई इन्काउन्टरका नाममा हत्या गर्न प्रहरीको टोली नै खटिएको तथ्य पनि यही सुनकाण्डमा सार्वजनिक भयो । अडियो रेकर्ड नै सार्वजनिक भएपछि उक्त इन्काउन्टर योजनाका योजनाकार मानिएका एसएसपी श्याम खत्री फरार भए । सेक्युरिटिज ल्यापसेजको नाममा प्रहरीले विमानस्थल प्रहरीमाथि छानबिन थालेको खबर पनि आयो । सुन तस्करीमा ‘ठूला माछा’हरु पनि संलग्न भएको चर्चा सरकारी तवरबाटै चलाइयो । तर ती ठूला माछा कहाँ छन्, को हुन् कसैलाई थाहा भएन । गोरेले प्रहरीबाटै आफू असुरक्षित रहेको बयान दिए । राजनीतिक तहदेखि प्रहरीसम्म सुन तस्करीमा संलग्न हुने गरेको तथ्य पनि यो काण्डले उजागर गरिदियो । तर, सुन तस्करीको जरासम्म पुग्ने चासो न त प्रहरीले देखायो, न त सरकारले नै ।
२. मोदीको नागरिक अभिनन्दन काण्ड
नाकाबन्दीको पृष्ठभूमिमा भारतविरोधी राष्ट्रवादको नारा लगाएर चुनावमा आकर्षक परिणाम निकाल्न नेकपा अध्यक्ष ओली सफल भए । तर, प्रधानमन्त्री बन्नासाथ उनले नेपालमा अलोकप्रिय ठानिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुईदुई ठाउँमा नागरिक अभिनन्दन गराए । जनकपुरबाट राजकिय भ्रमण शुरु गरेका मोदीलाई स्वागत गर्न प्रम ओली जनकपुर नै पुगे ।
जानकी मन्दिरमा पूजाआजा गर्ने मोदीको कार्यक्रममा साथ दिएका ओली २ नम्बर प्रदेशमार्फत गरिएको नागरिक अभिनन्दनमा पनि सहभागि भए । लगत्तै काठमाडौं आएका मोदीलाई काठमाडौं महानगरको तर्फबाट अर्को नागरिक अभिनन्दन गरिएको थियो । यो अभिनन्दन काण्डपछि प्रम ओली र उनका समर्थकको उग्र राष्ट्रवादी हल्लाखल्ला धरासायी हुनपुग्यो ।
३. कर काण्ड
ओली सरकार गठन भए लगत्तै विभिन्न केही नगरपालिका र गाउँपालिकाहरुले स्थानिय स्तरमा करका अनेक दर तोकेर हंगामा मच्चाए । संघीय सरकारले समयमै प्रदेश र स्थानीय तहको कर निर्धारण गर्ने कानून नल्याइदिँदा स्थानिय तहले आफैं कर निर्धारण गर्न थाल्यो । आरन, डोकोडालो र डुँगामा समेत कर लगाएको भनेर खिसिट्युरी भए । मालपोत, घरजग्गा बेचबिखन र विभिन्न सिफारिसमा समेत मनोमानी कर तथा शुल्क लगाएकोमा स्थानीय जनता तथा व्यवसायी आन्दोलित बने ।
४. निर्मला बलात्कार तथा हत्याकाण्ड
१० साउनमा कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । यो घटनाले देशै उद्देलित बनायो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसदेखी महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, नागरिक समाज लगायतले घटनाको विरोधमा सडक प्रदर्शन नै गरे । संचारमाध्यामले प्रमुखताका साथ यो विषय उठाइरह्यो । पन्तको बलात्कार तथा हत्याकाण्ड भएको अहिले ६ महिना पुरा भयो, तर अहिलेसम्म सत्यतथ्य बाहिर आएको छैन ।
५. सिण्डिकेट काण्ड
सरकार गठन भएको केही समयमै यातायात क्षेत्रको सिन्डिकेट अन्य गर्न गृहमन्त्रालयले पहल ग¥यो । सिण्डिकेट लगाएर आफ्नो रुटमा अरुलाई छिर्न नदिने यातायात व्यवसायीलाई कार्वाही गर्न पनि खोज्यो । विभिन्न रुटमा प्रतिस्पर्धी व्यवसायीलाई यातायात चलाउन सहजिकरण पनि गरियो । सिन्डिकेटलाई संस्थागत रुपमै हटाउन विभिन्न यातायात व्यवसायी संस्था खारेज गरेर कम्पनीमा दर्ता हुन सरकारले आदेश पनि दिएको थियो । सिण्डिकेट लगाउने शक्तिशाली यातायात व्यवसायी संस्थाहरुको बैंक खाता रोक्का गरियो ।
६. कुलपति काण्ड
दुई तिहाईको सरकार बनेको उन्माद मनाउने ओली सरकारका अनेक हत्कण्डामध्ये एउटा थियो संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै अपहरण गरिएको घटना । क्यानडाको भ्यानकोभर सहरमा हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन ७ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रस्थान गर्न लागेका उपकुलपति कोइरालालाई अचानक प्रहरीले नियन्त्रणमा लिएर बालुवाटार पु¥याएको थियो ।
७ ‘सिधा प्रश्न’ काण्ड
सूचना तथा संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई अप्ठ्यारो प्रश्न सोधेकै आधारमा नेपाल टेलिभिजनको सिधा प्रश्न कार्यक्रम बन्द गर्ने काण्ड यो सरकारको अर्को आलोचनायोग्य कदम थियो । कार्यक्रमका प्रस्तोता राजु थापाले मन्त्री बाँस्कोटालाई मन्त्रीपरिषदद्वारा सार्वजनिक सम्पत्ति विवरणका बारेमा केही प्रश्न सोधेका थिए । ती प्रश्नबाट आक्रोशित बनेका मन्त्री बाँस्कोटाले तत्कालै सो कार्यक्रम बन्द गर्ने आदेश दिएका थिए ।
८. मार्सीभात काण्ड
डा. गोविन्द केसीको १५ औं अनसन चलिरहेको बेला नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दहाल प्रचण्डले एक शंकास्पद पृष्ठभूमिका व्यवसायी दुर्गा प्रसाईंको भक्तपुर ठिमीस्थित घरमा मार्सी चामलको भात खाइरहेको फोटो सार्वजनिक भयो । उक्त फोटो सामाजिक सञ्जालमा तत्कालै भाइरल बन्यो भने मिडियामा एक मसलेदार समाचारको विषय बन्यो ।
९. शेरबहादुर काण्ड
व्यवसायी दुर्गा प्रसाईंले बंगलादेशमा मेडिकल पढ्न जाने महिलाहरुका बारे दिएको अभिव्यक्तीको व्यापक आलोचना भैरहेकै बेला तत्कालिन कानून, न्याय तथा संसदिय मामिला मन्त्री शेरबहादुर तामाङले ठ्याक्की उही बेहोराको अभिव्यक्ति काठमाण्डौंको एक कार्यक्रममा दिए । प्रसाईंले सार्वजनिक माफी माग्नुपर्ने आवाज उठिरहेका बेला मन्त्री तामाङले उस्तै कुरा किन दोहो¥याए बुझ्न कठिन छ । तर प्रसाईंले झैं उनले भने आफ्नो बोलीबाट उन्मुक्ति पाउन सकेनन् ।
१०. डा. केसी अनसन काण्ड
यो वर्ष मात्र डा. गोविन्द केसी दुईपटक अनसन बसे । चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै उनले यही वर्ष जुम्लाबाट १५ औं अनसन सुरु गरे । स्वास्थ्यमा समस्या उत्पन्न भएपछि उनलाई अपहरणको शैलीमा सरकारले काठमाडौं ल्यायो । प्रधानमन्त्रीकै पहलमा विधेयकमा सहमति जुटेपछि डा. केसीले अनसन तोडे । डा. केसीसँगको वान–टु–वान भेटमा पनि प्रधानमन्त्री ओलीले माग सम्बोधन गर्ने सार्वजनिक सहमति दोहो¥याए ।
११. वाइडबडी काण्ड
ओली सरकारले महत्वका साथ प्रारम्भिक उपलब्धीको लिस्टमा राखेको वाइडबडी जहाज अन्ततः इतिहासकै एक ठूलो भ्रष्टाचारकाण्डमा परिणत भयो । भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नारा दिएका प्रधानमन्त्री ओलीले यो काण्डमा मुछिएका आफ्ना मन्त्री रविन्द्र अधिकारीलाई न त राजिनामा गराउन सके, न त पदबाट बर्खास्त नै गरे ।
१२. एसिया प्यासिफिक समिट काण्ड
विवादास्पद धार्मिक संस्था युनिभर्सल पिस फाउन्डेसनद्वारा काठमाण्डौंमा आयोजित एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री स्वयम्को सहभागिताले सरकारलाई अर्को स्क्यान्डलमा फँसाइदियो । रोहिंग्या मुस्लिम समुदायको कत्लेआम गरेको आरोपमा फँसेकी म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी समेत सहभागि उक्त समिटको व्यवस्थापनका लागि सरकारले तीन दिनसम्म सवारी आवागमनमा जोरबिजोर प्रणाली लागु गरेको थियो । चर्को सार्वजनिक विरोधपछि उक्त निर्णय भने सरकारले दुई दिनमा फिर्ता लिएको थियो ।
१३. झुटो तथ्याङ्क काण्ड
जनताले अनुभूति गर्नसक्ने कुनै काम नगरेको आलोचना आफ्नै पार्टीभित्र समेत खेपिरहेका प्रधानमन्त्री ओलीले आफ्नो शासनको पहिलो वर्षमै पटकपटक विभिन्न सम्बोधन, प्रचारप्रसारको शैली अपनाए । यसै क्रममा उनले सरकारको १० महिना तथा चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको प्रगतिको तथ्याङक संसदमा पेश गरेका थिए ।
१४. पप्पु काण्ड
गौर जिल्लास्थित लालबकैया नदीको टिकुलियाघाटमा निर्माणाधिन पुलको पिल्लरमा ठोक्किएर गत भदौमा एउटा डुँगा दुर्घटना भयो । उक्त दुर्घटनामा ५ जनाले ज्यान गुमाए । त्यो थियो म्याद गुज्रिसक्दा पनि पिलर मात्रै बनेको पप्पु कन्स्ट्रक्सनको पुल । त्यसपछि गौरमा पप्पु कन्स्ट्रक्सन विरुद्ध प्रदर्शन पनि भयो । साथै दर्जनौं ठेक्कामा पप्पुले गरेको बदमासीको पर्दाफास पनि त्यही घटनापछि भयो । संघिय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार संस्थापक रहेको उक्त कन्स्ट्रक्सनले २० वटा साना–ठूला सडक र दर्जनौं पुलको ठेक्का पनि आफ्नै पोल्टामा राखेको तथ्य पनि सार्वजनिक भयो ।
१५. मेलाम्ची ठेकेदार काण्ड
मेलाम्चीको पानी उपत्यका आइपुग्ने अनेकौं मितिहरु हल्लामै आए हल्लामै गए । यसपटक चाहिँ दशैं अगाडि नै मेलाम्चीको पानी काठमाडौँ उपत्यामा आइपुग्ने सरकारको विश्वास निकै बलियो थियो । तर सुरुङमा काम गरिरहेको इटालियन ठेकेदार कम्पनी सिएमसी एकाएक आयोजना छाडेर भागेपछि मेलाम्चीको काकाकुल सपना फेरि स्थगित भएको छ ।
१६. सुख्खा बन्दरगाह काण्ड
चोभारका जनताको व्यापक विरोधका बाबजुद गत महिना सुख्खा बन्दरगाह शिलान्यास गर्ने प्रधानमन्त्री ओलीको कदमले स्थानिय जनतालाई आक्रोशित तुल्याएको छ । यो अर्को यस्तो घटना हो जहाँ अघोषित कफ्र्यु लगाएर कुनै कथित् विकास कार्यक्रम शिलान्यास गरिएको थियो । व्यापक सुरक्षाकर्मी परिचालन गरेर, स्थानीयलाई घरबाट ननिस्कन उर्दी जारी गर्दै विरोधमा उत्रिएका स्थानियलाई धरपकड गरेर उक्त शिलान्यास सम्पन्न गरियो ।
१७. पोल पोलमा प्रधानमन्त्री काण्ड
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रचार गर्न सरकारले प्रधानमन्त्रीको फोटासहितको पोस्टर मंसिर ११ गते विजुलीको पोलपोलमा झुण्ड्यायो । नयाँ युगको शुरुवात भन्ने ट्यागलाइन सहि उक्त पोस्टरलाई पत्रपत्रिका लगायत अनलाइन मिडियामा पनि ज्याकेट विज्ञापनमा प्रकाशित गरिएको थियो । फलदायी काम गर्न नसकेको तर आफ्नो फोटो पोलमा झुण्ड्याएर आत्मप्रदर्शन गरेको भन्दै प्रधानमन्त्री ओली र सरकारको व्यापक आलोचना पनि भयो । साभार :फरक धार