धनगढि प्रिमियर लिग (डीपीएल) अन्तर्गत आज भएको खेलमा सीवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ६० रनले हराएको छ । संकटमा परिसकेको अत्तरियालाई कप्तान दिपेन्द्र सिंह ऐरीको अर्धशतकले अन्ततः जित नै दिलायो ।
अत्तरियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२१ रनमात्र बनाउन सकेको थियो ।
अत्तरियाको १६ रनमा दुई विकेट गइसकेपनि तेश्रो विकेटको लागि कप्तान दिपेन्द्र र रित गौतमले ५७ रनको साझेदारी गरेपछि सम्मानजनक योगफल बनेको थियो ।
रनआउट हुनुअघि दिपेन्द्रले ५० बलमा १० चौका र १ छक्का सहित ६७ रन बनाए । त्यस्तै सुवेन्दु पाण्डे, सन्नी पटेल र रित गौतमले समान १२/१२ रन बनाए ।
रुपन्देहीका ललित सिंह भण्डारीले ४ ओभरमा २३ रन खर्चिदै ३ विकेट लिए भने बिक्रम सोबले २ विकेट लिए । त्यस्तै बसन्त रेग्मी र पूनित मेहराले समान १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको रुपन्देहीको इनिङ सुरुवता देखिनै लड्खडाएको थियो । २० ओभरमा ८२ रन बनाउँदै अलआउट भएको टोलीले १५ रन बनाउँदा सम्म कुनै विकेट गुमाएको थिएन । त्यसपछि ३२ रन बनाउन ८ विकेट गुमाएको टोलीले खेलमा फर्किने सम्भावना लगभग समाप्त भैसकेको थियो । नवौं विकेटको लागि सुमित महर्जन र बिक्रम सोबले २४ रनको साझेदारी गरेपनि त्यसले रुपन्देहीलाई लक्ष्यको नजिक पु¥याउन सकेन ।
टोलीको लागि सन्दीप सुनारले १५ रन बनाए भने प्रदिप ऐरीले १४ र विनोद भण्डारीले १० रनको योगदान दिए । पुनित मेहरा र बाबर हायात शुन्यमै आउट भएकाले पनि रुपन्देही ब्याटिङमा ध्वस्त भयो ।
बलिङतर्फ दिपेन्द्र रावतले घातक स्पेल फाल्न सफल भए । ४ ओभरमा ९ रन दिंदै २ विकेट लिएका रावतले रुपन्देहीलाई खुलेर खेल्न दिएनन् । भुवन कार्कीले पनि ४ ओभरमा २ मेडन सहित १० रन दिंदै २ विकेट लिए । त्यसबाहेक सन्नी पटेल र दिपेन्द्र ऐरीले समान २ र कमल सिंह ऐरीले १ विकेट लिए ।
अलराउन्ड प्रदर्शन गरेका दिपेन्द्र सिंह ऐरी प्लेयर अफ द म्याच चुनिए ।
जितसँगै अत्तरिया २ खेलमा ४ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ भने ३ खेल खेलेको रुपन्देही २ मा जित र १ मा हार सहित ४ अंक जोड्दै तेश्रो स्थानमा रहेको छ ।