काठमाडौँ, पुस मसान्तभित्र पार्टी एकीकरण को बाँकी कामको टुंगो लगाएर प्रतिवेदन बुझाउन सत्तारुढ नेकपाको ९ सदस्यीय कार्यदललाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका थिए । तर माघको तेस्रो हप्ता बितिसक्दा पनि कार्यदले प्रतिवेदन बुझाउन सकेको छैन । पटक–पटक वैठक बस्ने भनेर मिति तोक्दा समेत कार्यदलका सदस्यहरूको कार्यव्यस्तताले वैठक बस्न नसको हो ।
लामो समयपछि सोमबार बसेको नेकपाको सचिवालय बैठकले सो कार्यदललाई मंगलबारसम्म एकताको गृहकार्यबारे जेजस्तो अवस्था छ त्यसको विवरणसहित प्रतिवेदन दिन निर्देशन दिएको थियो । मंगलबार बस्ने भनिएको वैठक नै वस्न सकेन । कार्यदललाई अध्यक्ष द्वयको दवाब परेपछि वैठक आज दिउँसो दुई बजेपछि बस्न लागेको कार्यदलका एक सदस्यले जानकारी दिए ।
पौष १३ गते पार्टीका बाँकी सङ्गठन एकीकरणको प्रस्ताव तयार गर्ने, विधानमा भएका त्रुटी सच्याउने, प्रदेश कमिटी गठनको निर्णयमा हेरफेर, केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्ताव तयार गर्न ९ सदस्यीय कार्यदल गठन भएको थियो ।गठन भएयता ६ पटक बैठक बसेको कार्यदलले अहिलेसम्म विधानमा भएका त्रुटी सच्चाउने विषयमा मात्रै सहमति कायम गरेको छ । प्रदेश कमिटि हेरफेरको सवालमा कार्यदलका सदस्यभित्रै मतभेद सिर्जना भएको थियो । त्यसपछि बैठक समेत बसेको थिएन ।
कार्यदलमा रामबहादुर थापा बादल, महासचिव विष्णु पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुविर महासेठ, बर्षमान पुन, लेखराज भट्ट र बेदुराम भूसाल रहेका छन् । फरक धारमा खबर छ ।