सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कामको सन्तुष्टिको आधार : कामलाई सम्मान गर्न सिकौ

जानेको र मनले खाएको काममा मान्छे आनन्दित हुन्छ । तर सबैलाई यस्तो मौका र अवसर मिल्दैन । नयाँ कामको थालनी गर्दा र आफूलै भित्रैदेखि चाहना नगरेको काम गर्दा स्वाभाविक रूपमा गल्ती हुन्छ, जसले गर्दा कतिपय व्यक्तिमा आफ्नो काम र जागीरप्रति असन्तुष्टि पैदा हुन्छ ।

यस्तै आफ्नो कामलाई माया र सम्मान गर्न नजाँदा कामप्रति जाँगर मरेर जान्छ र दीर्घकालमा यसले मानसिक तनाव निम्त्याउने सम्भावना बढी हुन्छ । त्यसैले, आफ्नो कामलाई माया गर्दा जीवन सुखी र सहज हुन्छ ।

काम गर्दा कमजोरीबाट हतास हुने होइन, त्यसमा सुधार ल्याउनुपर्छ । गरेको काम आफूलाई मन परेको छैन भने पनि त्यो काम गर्नुपर्नाको कारणलाई सम्मान गर्नुपर्दछ । वास्तवमा कामबाट आर्जित पारिश्रमिकले नै हाम्रो जीविका चलिरहेको हुन्छ । जीविका चलाउन नै कठिन भएको भए मात्र अन्य विकल्पको खोजीमा लाग्नु बुद्धिमानी हुन्छ । विकल्प पनि नखोज्ने र असन्तुष्टि मात्र बोकेर बस्नु फलदायी हुँदैन । काममा असन्तुष्टिकै कारण कामविहीन भएर बस्दा मानसिक समस्या निम्तिन सक्छ ।

सानो कामबाट करीअर शुरू गर्नुपर्दा हिचकिचाउनु हुँदैन । त्यसलाई ठूलो आफ्नै परिश्रमले ठूलो बनाउने प्रयास गर्नुपर्दछ । कामको शुरुआत पनि सजिलोबाट गर्नुपर्दछ । यसो गर्दा विस्तारै काम सिक्ने समय र वातावारण मिल्दै जान्छ । एउटै कामलाई कहिलेसम्म निरन्तरता दिने र कहिले छोड्ने भन्ने निर्णय गर्नु सबैभन्दा गाह्रो पक्ष हो । वास्तवमा एक्लै कोही पनि सफल हुँदैनन् । काममा सहयोग माग्न अप्ठ्यारो मान्नु हुँदैन । नेपालीमा एक अर्कालाई सम्मान गर्ने बानी कमै भेटिन्छ । सबैले एक अर्काको क्षमताको सम्मान गरी सहयोग आदान प्रदान गर्ने बानी विकास गर्न सके यसले हाम्रै प्रगति हुनेमा कुनै शंका छैन । यसो गर्दा एकको कमजोरीलाई अर्कोको सबल पक्षमार्फत मिलाउन सकिन्छ ।

यसैगरी हरेक व्यक्तिको सोचाइ फरक हुन्छ । सृजनशील सोचाइलाई आफ्नो भविष्य र कम्पनीको समग्र फाइदाका लागि प्रयोग गर्न सक्नुपर्छ । हामी जति माथि पुगे पनि वा जति सफल भए पनि हामीभन्दा माथि सधैं कोही पुगेकै हुन्छ । सफलता सबैको एकनास हुँदैन । कोही हामीभन्दा बढी सफल होलान्, कोही कम ।

यथेष्ट स्रोतसाधन (समय, पैसा, जनशक्ति) सधैं जुटिरहन्छ भन्ने छैन । आफूसँग उपलब्ध स्रोतसाधनकै बलमा उत्कृष्ट कार्य सम्पादनको प्रयास हामीले गर्नै पर्दछ । काममा जोखिम हुन्छ नै । तर, राम्ररी सम्झीबुझी जोखिम उठाउनु बुद्धिमानी हुन्छ । कुनै पनि कम्पनी, करीअर वा परियोजनाको थालनी गर्दा शुरुआती अवस्थामा धेरै परिस्थितिलाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ । नत्र आत्तिएरै बीचैमा हताश हुने सम्भावना बढ्छ ।

यसैगरी काममा नकारात्मक प्रतिक्रिया पनि सुन्नुपर्ने हुन्छ । यो आवश्यक पनि छ । ती प्रतिक्रियाभित्र लुकेका सत्य कुरालाई आत्मसात् गर्दै सुधारको प्रयास गर्नुपर्छ । भित्रभित्रै मन खियाएर बस्नु व्यर्थ हुन्छ । यसको उपचार अरूसँग रिसइबी गर्नु होइन । यसले काम झनै बिग्रिने सम्भावना हुन्छ ।

हामीले जहिले पनि ठूलो कुरा सोच्नुपर्दछ । ठूलै सपना देख्दा ठूलै सफलता हात पर्ने सम्भावना पनि हुन्छ । यसका लागि आफ्ना सपनालाई लक्ष्यका रूपमा अघि बढाउनु फलदायी हुन सक्दछ । नयाँ काममा अघि बढ्न खोज्दा सतर्क गराउनेहरू बढी भेटिन्छन् । तर, त्यसैबाट हरेस भने खानु हुँदैन । कुनै कुरा सृजना गर्न लाग्ने समयभन्दा त्यसको निर्माणपछिको नतिजाको मूल्यमा ध्यान दिनुपर्दछ ।

सफलताका लागि आफ्ना योजनाबारे भरपर्दा व्यक्तिसँग छलफल गर्नुपर्छ । यसले सहयोगी प्रतिक्रिया प्राप्त गर्न सघाउ मिल्छ । यस्तै, आफ्नो सम्पर्क सञ्जाल वृद्धि गर्दै जानुपर्दछ । नयाँ मानिस भेट्ने र नयाँ तरीका सिक्ने प्रक्रियालाई निरन्तरता दिनुपर्दछ । साथै, पुराना मानिससँगको सम्पर्क पनि मजबूत गर्दै जानुपर्दछ ।

जीवनमा जतिसुकै सफलता पाए पनि कुनै पनि बेला असफलतासँग सामना गर्नुपर्ने अवस्था पनि आइपर्छ । यसका लागि आफूलाई मानसिक रूपमा तयार गर्नु पर्दछ । असफलताले सफलताका लागि पाठ सिकाउने यथार्थ बुझ्नु पर्दछ । कुनै एउटा परिस्थितिका लागि बनाइएको योजना अर्को परिस्थितिमा गलत साबित हुन सक्छ । त्यसैले हरेक प्रतिकूल परिस्थितिको सामना गर्न तयार हुनुपर्दछ । चाहेको सुविधा पाउँदैमा सुखी होइन्छ भन्ने छैन । सुखका लागि आत्मसन्तुष्टिको आवश्यकता पर्छ । काम गर्दै जाँदा अप्ठ्यारो स्वभावका मानिस पनि भेट हुन्छन् । तिनीहरूसँग पनि सम्मानको व्यवहार गर्ने प्रयास गर्नुपर्छ ।साभार : आर्थिक अभियान

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय